अन्तत गुड्ने भयो जनकपुरमा रेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा यही चैत १९ गते शनिबार जनकपुर–जयनगर रेलमार्ग उद्घाटन गर्ने भएका छन् ।

दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । वि. सं २०७५ मा नै निर्माण सम्पन्न भई सकेता पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।

मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्ने बारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै करसहित एक अर्ब तीन करोड रुपैयाँ बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।

जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई ७० रुपैयाँ र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई ३०० रुपैयाँ बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ । यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा सात लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।

गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आथित्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स