अब पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आवश्यक छैनः योम मा ई मोटर्सका निर्देशक सन्जिव सिल्पकार

नेपाली खेलकुल क्षेत्रका चर्चित व्यक्ति मध्येका एक हुन्, सन्जिव सिल्पकार । सिल्पकार विगत २ दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् । धेरै जस्तो खेलकुद प्रेमीले चित्रकारलाई फुटबल कमेन्टेटरका रुपमा चिन्छन् । साथै उनी नेपालको ए डिभिजन फुटबल क्लब थ्रीस्टारका महासचिव पनि हुन् । पछिल्लो समय सिल्पकारलाई हामी नयाँ रुपमा देख्न सक्छौं । उनी विगत ३ वर्षदेखि अटोमोवाइल व्यवसायमा सक्रिय छन् । उनी नेपालका लागि टेल्जी र जिनियस इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरण योम मा ई मोटर्स प्रालिका निर्देशक हुन् । नेपाल इलेक्ट्रिक सवारीसाधनको अवस्था र कम्पनीको भावी योजना बारेमा हाम्रोअर्थले सिल्पकारसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाई खेलकुदसँग सम्बन्धित व्यक्तित्व हुनुहुन्छ । खेलकुदमा सक्रिय हुनुका साथै लामो समयदेखि कमेन्ट्री गर्दै आइराख्नु भएको छ । तपाईलाई धेरैले फुटबल कमेन्टेटरको रुपमा चिन्छन् । आफ्नो शिप र दक्षताभन्दा बाहिरको क्षेत्र अटोमोवाइल व्यवसायमा लाग्नु भएको छ । तपाईलाई अब हामीले व्यवसायी भन्ने कि खेलकुदकर्मी ?

म विगत २ दशकदेखि खेलकुल क्षेत्रमा आवद्ध छु । त्यो भन्दा अघि खेल्थे पनि । थ्रिस्टार क्लबमा पहिलेदेखि आवद्धता थियो । खेलकुदसँग आवद्ध भएको मानिस स्वास्थ्य प्रति संवेदनशील हुन्छन् । २० वर्ष मिडिया क्षेत्रमा काम गरिसकेपछि परिवारकै सल्लाहमा एउटा व्यापार सुरु गरौं भन्ने सल्लाह भयो ।

हाम्रो अध्यक्ष राजेशराज कर्णीकार (भिनाजु)ले विद्युतीय सवारीको व्यवसाय सुरु गरौं भन्ने प्रस्ताव गर्नु भयो । मुलुकमा लोडसेडिङको समस्या अन्त्य भइसकेको र धेरै जलविद्युत आयोजना निर्माण सकिने क्रममा रहेकाले पनि भिजानुको प्रस्ताव अनुसार पारिवारिक व्यवसाय सुरु गरेका हौं ।

फोसिल फ्युलबाट चल्ले सवारीसाधनको तुलनामा विद्युतबाट चल्ने २ पाङ्ग्रे सुरु गरौं भन्ने परिवारको निचोड निस्कियो । उक्त अवधारणा विकास भएपछि त्यस विषयमा अध्ययन गर्नका लागि हाम्रो परिवारको ३ जना राजेशराज कर्णिकार, रोशन तुलाधर (सालो) र म चीन गएर विद्युतीय सवारीसाधनको सम्भाव्यता अध्ययनहरु गरौं ।

चीन गएको पहिलो चरणमै एउटा ब्राण्डसँग सम्झौता गर्न सफल भयौं । नेपालका लागि आधिकारीक बिक्रेताको प्रमाणपत्र पनि प्राप्त गरौं । सन् २०१८ को नाडा अटो शोलाई नभ्याउने भएपछि सन् २०१९ को अटो शोलाई ध्यानमा राखेर योजना बनायौं । सन् २०१९ को नाडा अटो शोमा सहभागी भयौं । उक्त अटो शोबाट उपभोक्ताबाट उत्साहजन प्रक्रिया प्राप्त भयो । नाडा अटो शोमा सम्भवत सबैभन्दा बढी भिड भएको स्टलमध्ये हाम्रै थियो । हामीले अधिकांश नेपाली दाजुभाइ तथा दिदी बहिनीको झुकाव विद्युतीय २ पाङ्ग्रेमा रहेको पायौं । अधिकतम ग्राहकको रुची २ दुई पाङग्रे सवारी हो भन्ने महशुस भयो ।

त्यसपछि पुन चीन गएर नेपालको भूगोल सुहाउँदो सवारी ल्यायौं । उकालो बाटो, डबल लोड र केही समान राखेर यात्रा गर्न मोटरको विषयमा अनुसन्धान तथा उत्पादकको टोलीसँग विभिन्न चरणरमा छलफल भयो । पहिलो चरणमा २५ वटाको मोटर निर्माण गर्न लगाएर नेपाल ल्याउन सफल भयौं । अहिले पनि म थ्री स्टार क्लबको महासचिवको रुपमा कार्यरत छु । खेलकुल र व्यवसायलाई साथ साथै लग्ने योजनामा छु ।

अहिले तपाईहरूले विद्युतीय २ पाङ्ग्रेको मात्र व्यापार गरि राख्नु भएको छ । भविष्यमा विद्युतीय ४ पाङ्ग्रेमा जाने योजना छ कि छैन ?

विद्युतीय २ पाङ्ग्रे व्यवसायी यात्राको सुरुवात हो । २ पाङग्रेमा सानो संख्यामा सुरु गरेका हौं । हाम्रो नजरमा केही ४ पाङ्ग्रे कम्पनीहरु पनि परेका छन् । आज नै यो गछौं भन्न उपयुक्त हुँदैन । २ पाङ्ग्रेको बजार प्रतिक्रियाबाट हामी उत्साहित छौं । भोलिको दिनमा ४ पाङग्रे सवारीसाधन पनि बिक्री वितरण गर्ने छौं ।

तपाईहरुले व्यवसाय सुरु गर्नु भएको करिब ३ वर्ष पुग्न लागि सक्यो । यो अवधिमा विद्युतीय २ पाङ्ग्रेको भविष्य नेपालमा कस्तो रहेको पाउनु भयो ?

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने समग्र २ पाङग्रे सवारीको बिक्रीको तुलनामा विद्युतीय २ पाङग्रेको बिक्री संख्या १ प्रतिशत पनि छैन । यसले गर्दा पनि विद्युतीय २ पाङग्रे सवारीको भविष्य के हुने भन्ने अधिकांसमा कौतुहलता रहेको थियो । अहिले धेरैले विद्युतीय सवारीसाधनको फाइदाको बारेमा बुझिसक्नु भएको छ ।

टेल्जी जस्तो विश्वमै प्रतिष्ठित ब्राण्ड नेपालमा भित्रिसकेको छ । उपभोक्ताहरु पनि धेरै स्मार्ट भइसक्नु भएको छ । उहाँहरुले इन्टरनेटमा सम्बन्धी सवारीसाधनको जानकारी लिएर मात्र शोरुम आउनु हुन्छ । टेल्जी यूएनको इन्भाइरोमेन्ट इ-मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनसर ब्राण्ड हो । त्यसको अर्थ यूएनले पनि विश्वास गरेको ब्राण्ड हो ।

यो सूचना पाइसकेपछि हाम्रो सम्भावित ग्राहकको संख्यामा वृद्धि भइरहेको छ । हामी उत्साहित छौं । अबको दिनमा यसको बिक्री दिन प्रति दिन बढ्दै जानेमा विश्वस्त छु । सोही अनुसारको सेवा सुविधा दिने छौं । अबको भविष्य इभी हो भनेर सबैले बुझि सक्नु भएको छ । यसले पनि हामीमा उत्साह थपेको छ ।

बजारमा लिथियम आयान ब्याट्री प्रति ग्राहकको रुची देखिन्छ । तर, तपाईहरु लिड एसिड प्रयोग भइरहेको उत्पादन बिक्री गरिराख्नु भएको छ । यसमा ग्राहकहरु कतिको सन्तुष्ट हुनु हुन्छ ?

विद्युतीय सवारीसाधन लिड एसिड र लिथिय आयन ब्याट्रीबाट सञ्चालन हुन्छन । लिड एसिडको तुलनामा लिथियम आयानको ब्याट्री साढे २ देखि ३ गुणा महँगो पर्छ । अधिकांशले विद्युतीय सवारीको प्रयोग गर्ने भनेको खर्च कटौती गर्नका लागि हो ।

लिथियम आयान ब्याट्रीको प्रयोग गर्न वित्तिकै मूल्य बढ्छ । लिथियम आयानको ब्याट्री महँगो छ । हामीले प्रयोग गरिरहेको लिड एसिड ड्राइ सेल पनि गुणस्तरिय छ । केही सावधानी अपनाएर प्रयोग गर्नु पर्ने हुन्छ । यसका लागि कम्पनीले ग्राहकलाई आवश्यक केही टिप्स दिने गरेको छ । कम्पनीको सल्लाह सुझाव अनुसार प्रयोग गरियो भने ३ वर्षभन्दा बढी समय चलाउन सकिन्छ । सस्तो मूल्यमै एउटै सुविधा पाइन्छ भने किन ग्राहकलाई महँगो लिथियम आयन ब्याट्री गराउने भन्ने हो । निकट भविष्यमा सोही स्कुटर लिड एसिड र लिथियम आयन ब्याट्री आयत गछौं । जसले गर्दा ग्राहकमा विकल्प उपलब्ध हुनेछ ।

लिड एसिडको आयु ३ वर्षको भन्नु भयो । कम्पनीको तर्फबाट वारेन्टी व्यवस्था कस्तो छ ? एक वर्षको वारेन्टी समय छ । उत्पादनमा त्रुटी देखिएमा कम्पनीले ब्याट्री र मोटर कन्ट्रोलर निःशुल्क परिवर्तन गरिदिन्छ ।
ब्याट्री परिवर्तन गर्न कति खर्च लाग्छ ?

हाल कम्पनीसँग ७२ भोल्ट र ३२ एमपियरको ब्याट्री उपलब्ध छ । त्यो भने १२ भोल्टमा ३२ एमपियरको ६ वटा ब्याट्री हुन्छ । एउटाको मूल्य ८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

भोलिको दिन तपाईको कम्पनीले लिथियम आयन ब्याट्री युक्त स्कुटर पनि बिक्री गर्ने बताइसक्नु भएको छ । ग्राहकले लिड एसिड ब्याट्रीको स्थानमा लिथियम आयान ब्याट्री प्रयोग गर्न चाहन्छन् भने ब्याट्री परिवर्तनको सुविधा प्राप्त हुन्छ कि हुँदैन ?

मजाले पाउनु हुन्छ । लिड एसिडले परिवर्तन गरेर लिथियम आयन ब्याट्री राख्दा भित्री बनोट केही परिवतर्न हुन सक्छ । ग्राहकको आवश्यकतलाई मध्येनजर गरेर लिथियम आयन ब्याट्री युक्त स्कुटर बिक्री गर्ने योजना बनाएका हौं । त्यसैले ग्राहकले बिना झन्झट ब्याट्री परिवर्तनको सुविधा उपयोग गर्न पाउनु हुन्छ ।

टेल्जी र जिनियसका कुन-कुन उत्पादन छन् ?

जिनियसमा स्पोर्ट मोटरसाइलमा छ । टेल्जीमा ३ वटा मोडल छन् । लायन, टाइगर र लियोपर्ड । यी मध्ये धेरैको रोजाइमा टाइगर मोडल पर्ने गरेको छ । तीन वटै मोडल आकर्षक छन् । यसको डिजाइनको कुरा जर्मनको रेड डटले डिजाइन गरेको मोडल हो । ह्वील साइज ठूलो भएकाले अरु मोडलको तुलनामा ग्राहकले रोजाइम टाइगर पहिलो नम्बरमा छ ।

मोटरसाइकल र स्कुटरले कति रेञ्ज प्रदान गर्छ ?

फुल चार्जमा टेल्जी लायनले ८५ किलोमिटर, टाइगरले १०० किलोमिटर र लियोपर्टले १२० किलोमिटर रेञ्ज दिन्छ । जिनियस मोटरसाइकलको रेञ्ज १०० किलोमिटर छ ।

सर्भिस सेन्टर र शोरुम कति वटा छन् ?

कम्पनीको मूख्य शोरुम काठमाडौंको नारायण चौर, सेल्स सेन्टर बैद्ध काठमाडौंमा छ । छिट्टै ललितपुरमा सेल्स सेन्टर खोल्दै छौं । बुटलबलमा डिलर सिप दिइसकेका छौं । इटहरी, भैरहवा र नेपालगञ्ज, महेन्द्रनगर र धनगढीमा सेल्स सेन्टरका लागि कुारकानी भइरहेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालिसम्म यम मा ई मोटर्सका उत्पादन पुर्याउने लक्ष्याका साथ काम गरिरहेका छौं ।

विद्युतीय सवारी खरिद गर्न आउने ग्राहकहरू कस्तो उमेर समूहको हुनु हुन्छ ?

प्ल टु अध्ययनरत विद्यार्थी र भर्खर रोजगारी सुरु गरेका युवायुवतीहरुको संख्या धेरै छ । पेट्रोलिय पदार्थको मूल्य वृद्धिबाट आजित हुनु भएका ग्राहकहरूको संख्या पनि पछिल्लो समय बढ्दो क्रममा छ । स्कुटर भएकाले यी उत्पादन चलाउन पनि सहज छ । यसमा उमेर सीमा छैन । लाइसेन्स लिन सक्ने उमेरदेखि ८५ वर्षको उमेर भएकाले पनि हाम्रो उत्पादन प्रयोग गरिराख्नु भएको छ । ८५ वर्षको वूवा हाम्रो ग्राहक हुनु हुन्छन् ।

नेपालमा विद्युतीय २ पांग्रे विक्री सुरु भएको एक दशकभन्दा लामो समय भइसकेको छ । तर पटके बिक्रेताका कारण नेपालमा विद्युतीय २ पाङ्ग्रे सवारी प्रति आमउपभोक्तको नजरिया सकारात्मक पाइदैनन । योम मा इ मोटर्सले विद्युतीय २ पांग्रे सवारी प्रति उपभोक्ताको धारण परिवर्तन गर्न सक्छ ?

नेपालमा विद्युतीय २ पांग्रे बिक्री सुरु हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । तर, विगतमा नेपाल भित्रिएका विद्युतीय २ पांग्रे सवारीसाधन न्यून गुणस्तरका थिए । अहिले टेल्जी जस्तो विश्वस्तरीय ब्राण्ड नेपाल भित्रिसकेको छ । चीन वा अन्य विकशित देशमा कम वाटको मोटर भए पनि पुग्छ । त्यहाँ उकालो बाटोहरुमा यात्रा गर्नु पर्दैन । विगतमा चिल्ला र समथर सडकलाई ध्यानमा राखेर निर्माण गरिएका स्कुटरहरू मात्र आयात गरिएको अवस्था थियो ।

जसले गर्दा काठमाडौंकै सानो उकालोहरु उक्लिन कठिन हुन्थ्यो । डबल लोड कुरै छाडौं सिंगल पनि तान्दैन थियो । जसले गर्दा ३५० र ५०० वाट मोटर भएको विद्युतीय स्कुटर किन्नु भएका ग्राहकहरू सन्तुष्ट हुन सक्नु भएन । अपेक्षाकृति बिक्री हुन सकेन र कम्पनीहरू पनि बन्द हुनपुगे । सुरुमा किनेका ग्राहकहरुले पछि आवश्यक परेको समय स्पेयर पार्टस् पनि पाउन सक्नु भएन । हामीले व्यवसाय सुरु गर्नु अघि नै यो कुरालाई राम्रोसँग अध्ययन गरेका छौं ।

यसका लागि टेल्जीको रिसर्ज एण्ड डेभलपमेन्ट टिमसँग बसेर काठमाडौंको भौगोलिक अवस्था र बाटोहरू अवस्था राम्रोसँग बुझाएर उपयुक्त मोटर विकास गर्न लगाएका छौं । योम मा इ नेपालले नेपालको भूगोल सुहाउँदो इलेक्ट्रिक स्कुटर नेपाल ल्याएको हो । यसको पिक पावर ४ हजार वाटको छ । उक्त मोटर विकास गरेर नेपाल ल्याइरहेको अवस्था छ । जसले गर्दा काठमाडौंको कुनै पनि ठाडो उकालो बाटोमा डबल लोडमा उक्लिनका लागि कुनै समस्या छैन ।

पेट्रोलिय पदार्थबाट चल्ले सवारीसाधन हजुरवुवादेखि नाती पुस्तासम्मले प्रयोग गरिराख्नु भएको छ । यस्ता सवारीमा कुनै प्राविधिक समस्या देखिएमा सहजै समाधान हुन्छ भन्ने विश्वास छ । तर, इलेक्ट्रिक सवारीसाधनमा समस्या देखियो भने के हुन्छ भन्ने दुविधा अझै देखिन्छ । यसले गर्दा पनि तुलनात्मक रुपमा विद्युती सवारीसाधनको बिक्री बढ्न नसकेको हो ?

कुनै पनि नयाँ वस्तुमा स्वीच गर्नका लागि प्रारम्भिक चरणमा कठिनाई महशुस गर्ने मानवीय गुण नै हो । मानिसहरुलाई बार फोनबाट स्मार्टफोनमा स्वीच गर्दा केही असज महशुस भएको थियो, होला । तर अन्यमा स्मार्टफोर र टच स्क्रिन नै सहज भइरहेको छ । विगतमा दाउरा बालेर कशैडीमा खाना पकाउँथ्यौं । त्यसपछि स्टोप बालेर पेसर कुकरमा पनि पकायौं । राइज कुकरमा आउँदा पनि केही दिन असहज भयो । राम्रो र सहज हुने भएकाले यसको प्रयोग बढ्न थाल्यो । हो, केही समय असहज हुन सक्छ । विद्युतीय सवारीसाधनमा हात बस्न केही समय लाग्छ । हात बसी सकेपछि विद्युतीय सवारी चलाउन निकै सहज हुन्छ ।

पेट्रोलिय सवारीसाधन लोकल वर्कशपमै मर्मत गर्न सकिन्छ । इलेक्ट्रिक सवारीसाधनको हकमा कस्तो अवस्था छ ?

पेट्रोलिय सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनमा प्रयोग हुने कम्पोनेन्ट कम हुन्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी मर्मत गर्नेहरुले सहजै बनाउन सक्नु हुन्छ । यदि अल्छी गर्नु भएन भने । यसका लागि हामी इलेक्ट्रिक सवारी बिक्रेताहरु मिलेर लोकल वर्कशपका कर्मचारीहरुलाई तालिमको व्यवस्थ गर्नुपर्छ । यो गरियो भने अझै प्रभावकारी हुन्छ । यसका लागि केही योजना बनाएका छौं । नजिकैको वर्कशपमा सहजै मर्मत हुन नसकेको खण्डमा कम्पनीले होम सर्भिस पनि उपलब्ध गराउँदै आइरहेका छौं ।

बिक्री पछिको सेवाका लागि स्पेयर पार्टस् र प्राविधिक जनशक्तिको उपलब्धता कस्तो छ ?

हामीले चीनबाट मोटरसाइकल र स्कुटर आयात गरिराखेका छौं । चीनबाट सामान आउन बढी समय लाग्ने भएकाले उत्पादक कम्पनीले सल्लाह दिएको भन्ने पाँच गुणा बढी स्पेयर पार्टस् ल्याएर राखेका छौं । ग्राहकलाई चुस्त दुरुस्त सेवा दिनका लागि हामीसँग प्रयाप्त प्राविधिकहरू छन् ।

विद्युतीय इलेक्ट्रिक २ पाङग्रे सवारीसाधन बिक्री गर्ने २ दर्जनभन्दा बढी कम्पनी छन् । ग्राहकले योम मा ई मोटर्स  नै किन रोज्ने ?

हामीले लामो लक्ष्य र योजना राखेर नै विद्युतीय सवारीको बिक्री सुरु गरेका हौं । २ दशक टेलिभिजनमा कमेन्टेटर र खेलकुललाई माया गर्नेहरूबाट इज्जत कमाएको व्यक्ति हु । उक्त विश्वास र भरोसा अन्य क्षेत्रमा लागेर गुमाउन चहान्न । अझ कसरी बढाउन सकिन्छ भन्ने नै मेरो ध्येय रहेको छ । लामो र दुरगामी सोच नभएको भए नक्साल नारायणचौरमा शोरुम सञ्चालन गर्ने थिएनौं । विगतमा जति पनि कम्पनी बन्द भएका थिए ती मध्ये धेरैले एउटा सानो गल्लीमा शोरुम खोलेका थिए । नेपालभर नै सेवा दिने लक्ष्यका साथ हामीले कम्पनी स्थापना गरेका हौं । त्यसैले ग्राहकलाई ढुक्क हुन विनम्रताका साथ अनुरोध गर्दछु ।

इलेक्ट्रिक स्कुटर चढ्दा उपभोक्तालाई के फाइदा हुन्छ ?

इलेक्ट्रिक स्कुटरको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै फाइदा रहेका छन् । इलेक्ट्रिक स्कुटर पकेट मैत्री छ । महँगो पैसा तिरेर पेट्रोल किन्नु पर्दैन । घरमै सामान्य पोर्टमा चार्ज गर्न सकिन्छ । र, सचेत नागरिकको दाहित्व पनि यसबाट बहन हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यका संसारकै प्रदुषित सहर भइसकेको छ । इभी चलाएर प्रदुषण कम गर्न सकिन्छ । मेरो सवारीसाधनले प्रदुषण गर्दैन भनेर गर्वका साथ छाती फुलाएर हिड्न सकिन्छ ।

हाम्रो व्यापार घाटाको २०/२५ प्रतिशत हिस्सा पेट्रोलिय पदार्थ खरिदमै रहेको छ । हामीले वर्षिनै २ खर्बभन्दा बढीको पेट्रोलिय पदार्थ खरिद गरेर देशलाई कुरुप बनाइरहेका छौं । हाम्रो देशको प्रमुख आम्दानीको स्रोत भनेको पर्यटन हो । प्रदुषित सहरमा पर्यटक पनि सायद कम नै आउँछन् होलान् । हामीले विभिन्न कोडबाट विचार गरौं भने पेट्रोलिय पदार्थबाट चल्ले सवारीसाधन नेपालका लागि आवश्यक छैन ।

विद्युतीय सवारी प्रयोग गरेको खण्डमा अरुमा निर्भर हुनु पर्दैन । स्वदेशमै उत्पादित स्वच्छ जलविद्युतको उपयोगबाट विद्युतीय सवारीसाधन प्रयोग गर्न सकिन्छ । २० रुपैयाँको विद्युतीबाट सवारी चार्ज गर्दा ३ लिटर पेट्रोलको पैसा विदेश जानबाट रोक्न सकिन्छ ।

विद्युतीय सवारीको प्रयोग बढ्न नसक्नुमा पूर्वाधारको अभाव पनि भन्ने गरिन्छ । विद्युतीय २ पाङ्ग्रे सवारीका लागि पूर्वाधार कतिको आवश्यक छ ?

इलेक्ट्रिक स्कुटरका लागि चार्जिङ स्टेशनको आवश्यक पर्दैन । नेपालमा भित्रिएका सबै इलेक्ट्रिक स्कुटर सहरी यात्राका लागि मात्र उपयुक्त छन् । हाल उपलब्ध स्कुटरहरूमा फास्ट चार्जिङ स्टम (डीसी) छैन । राती चार्ज गरेर दिनभर कुदाउन सकिने भएकाले स्कुटरलाई चार्जिङ स्टेशन आवश्यक छैन । हेभी एम्पियरको चार्जरले चार्ज गर्दा छिटो चार्ज होला तर ब्याट्रीमा असर गर्न सक्छ । गाडीका लागि चार्जिङ स्टेशन आवश्यक छ तर तत्काल २ पांग्रेको लागि आवश्यक छैन । मोबाइल चार्ज गर्ने स्थानमा चार्ज गर्न सकिन्छ । भोलिको दिनमा लामो रेञ्जको २ पाङग्रे सवारीसाधन उपलब्ध भएको खण्डमा भने डीसी चार्जर आवश्यक पर्न सक्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स