एसेम्बलिङ उद्योगमा काम गर्दैछौं, राज्यको अब बन्ने नीतिले मोटरसाइलको मूल्य तय हुन्छः राजु क्षेत्री

अटोमोवाइल्स क्षेत्रमा लामो अनुभव भएका राजु क्षेत्री करिब ६ महिनादेखि नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका छन् । कोभिड–१९ पछि अर्थतन्त्र संकट उन्मुख र पेट्रोलिय पद्धार्थमा निरन्तर रुपमा मूल्य वृद्धि भइरहेको छ । पछिल्लो समय आम उपभोक्ताको चासो इन्धन किफायति तथा वातावरणमैत्री सवारी साधानमा हुनुपर्ने भनाइ राख्ने क्षेत्रीसँग हालको सवारी साधानको बजारको अवस्था, कोरोनाले बजारमा पारेको प्रभावका विषयमा हाम्रोअर्थका निर्दोष घोरसाइनेले गरेको कुराकानीको सारः

अहिले दुई पाङ्ग्रे सवारीको बिक्रीको अवस्था कस्तो छ ?

केही समय अघि उत्साजन नै थियो । छठ पछि भने विस्तारै सुस्ताउँदै गएको छ । एक सातादेखि निराशजनक स्थिति नै छ ।

गत आव लकडाउन खुलेपछि सवारीसाधनको बिक्रीमा बहार नै आएको थियो । यो वर्ष पनि लकडाउन पछि बिक्री बढेको व्यवसायीहरु बताउँदै आइरहेका थिए । अहिले के कारणले बिक्री घट्यो ?

लकडाउनको समयमा सवारीको बिक्री ठप्प प्राय थियो । लकडाउन खुलेपछि त्यो समयमा खरिद गर्ने योजना बनाएकाहरुले खरिद गर्दा पनि बिक्री बढ्न गएको हो । २०७७/७८ दुई पाङ्ग्रे सवारीसाधनका लागि ऐतिहासिक वर्ष नै थियो ।
समग्रमा साढे ३ लाख हजार दुई पांग्रे सवारी नेपाल भित्रिएको थियो । यो वर्ष पनि शुरुको ३ महिना साउन, भदौ र असोज उत्साहजनक थियो । तिहारसम्म राम्रो थियो । छठमा आइपुग्दा अपेक्षित रुपमा व्यापार हुन सकेन । अहिले निराशजन स्थिति छ ।

बैंकहरुसँग लगानी योग्य पुँजीको अभाव र कोरोनाका नयाँ भेरियन्ट ओम्निक्रोम पनि फैलिने हल्ला छ । यसका कारण उपभोक्ताले आफूसँग भएको रकम संचित गरेर राख्नु भएकाले पनि बिक्री नबढेको होला की ?

यी कारण पनि हुन सक्छन् । गत वर्ष पनि कोरोना फैलिदैन भन्दा पनि २, ३ महिना लकडाउनको सामना गर्नु परेको थियो । अहिले उपभोक्ताहरु भोलि के हुन्छ भन्ने एक प्रकारको मनोवैज्ञानिक त्रास छ । फेरी लकडाउनको अवस्था आयो भने १, २ महिना घर भित्रै बस्नु पर्ने हुन्छ । यसका लागि पनि उपभोक्ताहरु खर्च संचित गरेर बस्नु भएको हुन सक्छ । बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी नहुनु पनि समस्याको रुपमा छ । यसले गर्दा लगानी हुन सकेको छैन । हाम्रो डिलरहरुलाई एलसी खोल्न पनि अफ्ट्यारा अवस्था छ । बजारको अवस्थाले गर्दा पनि अफ्ट्यारो स्थिति छ ।

प्रतिस्थापक विधेयकले सवारी आयात गर्नेलाई भन्दा पनि स्वदेशमै उत्पादन गर्ने उद्योगलाई सहुलियत प्रदान गरेको छ । स्वदेशमै एसेम्बलिङ गर्ने यामाहाको योजना छ कि छैन ?

यामाहा जस्तो ब्राण्ड चुप लागेर बस्ने कुरा हुँदैन । एसेम्बलिङका लागि कम्पनी आन्तरिक गृहकार्यमा लागेको छ । कम्पनी दर्ताको काम पनि भइरहेको छ ।

प्रतिस्थापन विधेयक मार्फत् जारी भएको बजेटले प्रतिस्पर्धी कम्पनीको तुलनामा यामाहाको लागत मूल्य बढेको छ । लागत घटाउन पनि कम्पनी एसेम्बलिङमा जानु पर्ने अवस्था सिर्जना भएको छैन ?

बजेटपछि यामाहाको मूल्य वृद्धि भइरहेको छ । प्रतिस्थापन विधेयकले अन्तःशुल्कमा केही हेरफेर गरेको छ । नेपालमै एसेम्बल गरेको अवस्थमा पहिलाभन्दा बढी छुट र आयात गर्दा विगतभन्दा १० प्रतिशत अन्तःशुल्क बढाइएको छ । अहिलेसम्म यामाहाको नेपालमा एसेम्बिलिङ लाइन नभएकाले पनि यसका मारमा छौं । नेपालमा एसेम्बलिङ गरिराखेका कम्पनीहरुको मूल्य घटेको छ । २ पांग्रे सवारीसाधनको लागत मूल्य १०० थियो भने अन्तःशुल्क घटेसँगै स्वदेशमा उत्पादन गर्ने कम्पनीको घटेर ९५ भयो भने यामाहाको ११० हुन पुग्यो । यसमा स्वत १५ रुपैयाँको फरक देखियो । यसको मारमा पकै पनि यामाहा छ ।

यामाहा जापनीज कम्पनी भएकाले अन्य कम्पनी जस्तो सहज रुपमा एसेम्बलिङ शुरु गर्न सहज छैन । जापनीजहरुले गुणस्तर अन्य आधारभूत कुरामा बढी ध्यान दिने भएकाले पनि केही ढिलाइ भइरहेको छ ।

सम्भवत त याहामाको एसेम्बलिङ प्लान्ट कहिले देख्न पाउँछौं ?

एसेम्बलिङका लागि काम भइरहेको छ । मिती नै किटानी गरेर भन्न सकिने अवस्था छैन । यो प्रक्रिया अलि ढिलै छ । जापनीजहरुसँग सजिलो छैन । त्यसमा हामीले रिसाउने र निराश हुने कुरा देखेको छैन । अन्तर्गत्व यसले हामीलाई नै उत्कृष्ट र गुणस्तरिय उत्पादन गर्न सहयोग गर्छ ।

यामाहाले नेपालमै एसेम्बलिङ शुरु गर्यो भने नेपाली ग्राहकले अहिलेको भन्दा सस्तो मुल्यमा मोटरसाइकल चढ्न पाउँछन् त ?

अहिले म त्यो भन्न सक्ने अवस्थामा छैन । किन भने फेरी ३ महिना पछि सरकार परिवर्तन हुन सक्छ । नयाँ बन्ने बजेटमा फेरी अर्को १० प्रतिशत अन्तशुल्क थप गरिएला । केही बढाइएला वा घटाइएला त्यसले गर्दा अहिले निश्चित भएर भन्न सकिने अवस्था छैन् । सहुलियत कायम रहिरयो भने पक्कै पनि केही सस्तो हुनेछ ।

यामाहाको बजारमा इलेक्टिङक २ ह्वीलर छैन । यामाहाले इभी प्रोटोटाइममा काम गरिरहेको छ । यदि यामाहाले इभी उत्पादन गर्यो भने नेपाल भित्रिने सम्भावना कतिको छ ?

यामाहाले इभीमा काम गरिरहेको छ । केही मोडल बन्ने क्रममा छन् । नेपालको परिपक्षयमा कुरा गर्दा इभीका लागि आत्तिहाल्नु पर्ने अवस्था छैन । यहाँ चार्जिङ पूर्वाधार बनाउन अझै धेरै समय लाग्छ । इलेक्ट्रिक सवारीसाधनमा लिथियम आयान ब्याट्री प्रयोग हुन्छ । ब्याट्रीका कारण सवारीको मूल्य बढी छ । सवारीसाधनको करिब आधा मूल्य ब्याट्रीमै तिर्नुपर्छ । विगत ३ वर्षदेखि लिथियम आयन ब्याट्रीको मूल्य घटिरहेको छ । यो भविष्यमा अझै घट्छ भन्ने आकलन गर्न सकिन्छ ।

पहिला प्रविधि त्यति विकास भइसकेको थिएन । प्रविधि विकसित हुँदै जाँदा ब्याट्रीको मूल्य अझै घट्ने सम्भावना देखिन्छ । भोलि मूल्य घट्छ भन्ने थाहा हुँदा हुँदै बढी मूल्य हालेर किन किन्ने ? बजारमा उपलब्ध २ पांग्रे इभीको रेञ्ज पनि कम छ । २, ३ सय किलोमिटरको यात्रा गर्दा चार्ज टिक्छ कि टिक्दैन भन्ने डर छ । ठूला ब्राण्डले आक्रामक रुपमा २ पंग्रे इभी बजारमा ल्याएको देखिदैन । त्यसैले पनि यसका लागि अझै समय छ ।

पेट्रोलिय पद्धार्थको मूल्य लगातार रुपमा बढ्नु पनि अहिले जटिल समस्याको रुपमा देखिएको छ ? यसबाट उपभोक्ताहरु कसरी बच्न सक्छनन् ?

पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर रुपमा बढी रहेको छ । त्यसैले उपभोक्ताहरुले इन्धन किफायती सवारीसाधन रोज्नु पर्छ भन्ने मेरो बुझाइ छ । इभी आफ्नो ठाउँमा छ । जसले फोसिल फ्यूलबाट चल्ने सवारी चढ्नु हुन्छ उहाँहरुले इन्धन कम खपत गर्ने सवारी रोज्दा राम्रो हुन्छ । तेलको मूल्यले तत्काल घट्ने सम्भावना छैन । त्यसले गर्दा पनि धेरै पेट्रोल खपत गर्ने सवारीसाधन पाल्न गाह्रो हुन्छ ।

अबको सवारीसाधन हाइड्रोजन फ्यूल कि इभी ?

यामाहाले हाइड्रोजन फ्यूलमा पनि काम गरिरहेको छ । भर्खरै यामाहा र टोयोटा मिलेर हाइड्रोजन फ्यूलबाट चल्ने गाडी शोकेस गरेको छ । केही समयपछि गएर संसारै हाइड्रोजन फ्यूल र इभीमा ध्रुवीकरण हुने सम्भावना देखिराखेको छु । एउटा ब्राण्डले हाइड्रोजन फ्यूल र अर्कोले लिथियम आयान ब्याट्रीलाई बढवा दिने सम्भावना पनि छ । यसमा भूराजनीतिको कुरा पनि होला । जापन लगायत यूरोपिनिय मुलुकहरुले हाइड्रोजन फ्यूलमा काम गरिरहेको छ । अहिले नै भोलिका लागि यो नै ठिक भन्न सकिने अवस्था भने पक्कै छैन । यस्थास्थितिमा सबैभन्दा कम प्रदुषण कसले गर्छ त्यो सवारीसाधन हामीले ल्याउने हो । यो नै उत्तम विकल्प हो ।

बिक्रीका हिसाबले यामाहा नेपालको तेस्रो ठूलो ब्राण्ड हो ? यसलाई नम्बर वान बनाउनेतर्फ कम्पनीको रणनीति कस्तो छ ?

भन्सारको डाटा हेर्दा पनि यामाहा तेस्रो ठूलो ब्राण्ड हो । सबैभन्दा पहिला हामी उत्पादक हैन । हामीले कसैको ब्राण्डलाई नेपालमा प्रतिनिधित्व गछौं । अनुसन्धा र विकासको काम यामाहा कम्पनीले गर्छ । हाम्रो निर्देशन र हामीले भनेको आधारमा यामाहाका नयाँ उत्पादन आउँदैन । अन्तर्राष्ट्रियस्तरमा अनुसन्धान गरेर उत्पादन गरिन्छ । त्यो उत्पादन एउटा देशमा मात्रै बिक्री गर्ने हैन । धेरै देशमा यामाहाका उत्पादन बिक्री हुने भएकाले ती देशहरुमा सर्भे गरेर नयाँ उत्पादन बजारमा ल्याइन्छ । यामाहाले जे उत्पादन गर्छ हामीले त्यही बिक्री गर्नु पर्ने हुन्छ । उत्पादन र डिजानको हकमा हामीले केही गर्न सक्देनौं । हामीले स्थानीयस्तरमा ग्राहकलाई बिक्री पछिको उच्कृष्ट सेवा दिने हो । यसका लागि हामी सधैभर प्रयासरत रहन्छौं ।
यामाहाले नेपाल अधिराज्यभर १०१ डिलर नेटवर्क विस्तार गरिरहेको छ । पूर्वको इलामदेखि पश्चिमको महेन्द्रनगर पुग्दा यामाहाको डिलरमा पूर्वाधार सम्बन्धी केही न केही काम भइरहेको छ । पूर्वाधारलाई विकास गर्ने र शोरुम तथा वर्कशपलाई उच्चकोटीको बनाउने हाम्रो लक्ष्य छ । सम्भवत ५, ६ महिनामा यामाहले उक्त लक्ष्य प्राप्त गर्छ । बिक्री पछिको सेवा उत्कृष्ट दिनु पर्छ भनेर हामी लागि परेका छौं ।

हाल यामाहाले १३ वटा मोटरसाइक र ७ वटा स्कुटर बिक्री गरिरहेको छ । यीमध्ये उपभोक्ताको रोजाइमा कुन मोडल रहेका छन् । यी मोडल ग्राहकको रोजाइमा पर्नुको मूख्य कारण के हो ?

स्कुटर सेग्मेन्टको कुरा गर्दा गतवर्ष सार्वजनिक गरेको १२५ सीसीको रेजियाको राम्रो माग देखिएको छ । मोटरसाइकलमा भने ग्राहकको आकर्षण मिश्रित रहेको छ । यामाहाको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा एफजी भी थ्री र एफजी भी टु रहेको छ । आजको दिनमा हेर्नु हुन्छ भने एमी १५ को माग अत्याधिक छ । एमटी १५ को मात्र १७, १८ सय वटा बुकिङ छ । त्यो बुकिङको डेलिभरी कहिले दिन सकिन्छ भनेर प्रतिवद्धता गर्न सकिएको छैन ।

एमटी १५ नविन प्रविधिको प्रविधि नविन भएकाले यसमा चिप्सको प्रयोग भएको छ । चिप्सको अभावका कारण माग अनुसारको उत्पादन हुन सकेको छैन । हामीले माग गरेको अनुसार पनि आपूर्ती हुन सकेको छैन । समयमै डेलिभरी दिन नसकेकाले करिब ९ सय वटा बुकिङ रद्द भइसकेको छ । यो मोटरसाइकल यस्तो मन्दीको समयमा ल्याउन सकेको भए बिक्री हुन्थ्यो । युवाको चहान अनुसारको मोटरसाइकल भएर एमटी १५ मा आकर्षण धेरै देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स