५२ प्रतिशले बढ्यो सवारी र पार्टपुर्जा आयात

काठमाडौं । नेपालमा सवारीसाधन र पार्टपुर्जाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५४ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२.२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा ३५ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टपुर्जा नेपाल भित्रिएको थियो ।

‘गत वर्ष र अघिल्लो वर्ष कोभिड-१९ का कारण सवारी साधन र पार्टपुर्जाको आयात घटेको थियो । घटेको हिसाबले बढेको हो । समग्रमा बढेको हैन,’ नाडा आटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले भने, ‘कोभिडको कारण सार्वजनिक यातायातको तुलनामा निजी सवारी सुरक्षित हुने भएकाले पनि उपभोक्ताको आकर्षण बढेको छ ।’
विगतमा घटेकाले अहिले बढेको देखिएको अध्यक्ष थापाको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी सवारी भारतबाट आयात हुन्छ । पहिलो ४ महिनाको अवधिमा भारतबाट ४४ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको सवारी, पार्टपुर्जा र टायर ट्युव भित्रिएको छ । यस्तै चीनबाट २ अर्ब ४५ करोड २८ लाख रुपैयाँ र अन्य मुलुकबाट ७ अर्ब ३८ करोड १८ लाख रुपैयाँको सवारी र पार्टपुर्जा भित्रिएको छ ।

नाडाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४७ लाख ८० हजार ७२ वटा सवारीसाधन भित्रिएका छन् । यसमा दुई पांग्रे सवारीको हिस्सा धेरै छ । दुई पांग्रे सवारीसाधन ३५ लाख ३५ हजार ५३४ वटा भित्रिएका छन् । पछिल्लो समय चीनबाट विद्युतीय स्कुटरहरु भित्रिने क्रम बढेको छ ।

नेपालमा सार्वजनिक सवारीको भरपर्दो व्यवस्था छैन । यसले पनि निजी सवारी चढ्ने परिपाटी बढेको हो । साँघुरो र खाल्डाखुल्डी सडक भएकोले बढी मोटरसाइकल/स्कुटर बिक्री हुने व्यवसायी बताउँछन् । सरकारले नेपाल भित्रिने गाडीमा चर्को भन्सार लगाएको छ । यसले पनि मोटरसाइकल र स्कुटरमा बढी आकर्षण देखिएको हो ।

नेपालमा सस्ता सवारी भारतबाट भित्रिँदै आएको छ । महंगा कार र मोटरसाइकल तेस्रो मुलुकबाट भित्रिन्छन् । कुल सवारीको कबिर ३ चौथाई आयात भारतबाटै हुने गरेको छ । केही सवारी साधन चीनबाट पनि भित्रिन्छन् । पछिल्लो समय चीनबाट डटबाइक र इलेक्ट्रीक स्कुटर भित्रिने क्रम बाक्लिएको छ । कार र अन्य गाडी पनि चीनबाट भित्रिन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स