पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दो क्रममा छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिका कारण आम नागरिक महँगीको मारमा छन् । नेपालमा प्रयाप्त मात्रमा जलविद्युत उत्पादन भएसँगै निर्यात पनि शुरु भइसकेको छ । नेपाल विद्युत प्राधिकरण विद्युतको खपत बढाउनका लागि पहल गरिरहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन सकिए विद्युतको खपत पनि बढ्ने निश्चित छ । सरकारले पनि विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न भन्सार, कर लगायतमा सहुलियतको व्यवस्था गरेको छ । पट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको भन्सार दर सस्तो छ । यसका बाबजुत विद्युती सवारीको प्रयोग अपेक्षित रुपमा बढ्न सकिरहेको छैन । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र विद्युतको आपूर्ती बढेसँगै इलेक्ट्रिक सवारीसाधनको बिक्री बढ्ने नेपालका लागि प्योर इभीको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सका प्रबन्ध निर्देशक ओशक खड्की बताउँछन् । दुई दशकभन्दा लामो बैंकिङ अनुभवलाई विद्युतीय सवारीको बिक्रीमा उपयोग गरिरहेका खड्कीसँग हाम्रोअर्थका निर्दोष घोरसाइनेले गरेको कुराकानीको सम्पादित अंशः
विकास बैंकको नेतृत्व र वाणिज्य बैंकमा उच्च तहमा काम गरिसक्नु भएको छ । सेवा सुविधा तथा राम्रो तलब आउने जागिर छोडेर अटोमोबिल्स् त्यसमा पनि विद्युतीय सवारीमा किन प्रवेश गर्नु भयो ?
अबको भविष्य भनेको विद्युतीय सवारीे हो । पछिल्लो केही वर्षदेखि संसारभरका उपभोक्ताहरुको आकर्षण विद्युतीय सवारीमा छ । विद्युतीय सवारी चढ्ने उपभोक्ता पनि बढी राख्नु भएको छ । अन्य मुलुकको तुलनामा नेपालमा विद्युतीय सवारीको सम्भावना उच्च छ । पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ भने विद्युत स्वदेशमै उत्पादन हुन्छ ।
नेपालमा करिब शतप्रतिशत विद्युत नविकरणिय ऊर्जाबाट उत्पादन हुन्छ । साथै, विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले नीतिगत सहयोग गरिरहेको छ । मुलुकलाई समृद्ध बनाउन पनि इलेक्ट्रिक भेहिकलमा आवश्यक छ । विद्युतीय सवारीको उज्जवल भविष्य देखेर यसमा लागेको हुँ ।
ह्वाइट लोटस मोटर्सले भारतीय ब्राण्ड प्योर इभीका स्कुटर बिक्री गर्दै आइरहेको छ । तर, नेपालमा धेरै कम्पनीहरुले चिनियाँ ब्राण्डका स्कुटर बिक्री गर्नु हुन्छ । प्योर इभीका स्कुटर त्यस्तो के विशेषता छन् ?
दक्षिण एसियका अधिकतम उपभोक्ताको पहिलो सवारी भने २ पांग्रे हुने गर्छ । दुई पांग्रेबाट अन्य सवारीमा सिफ्ट हुने हो । लागतको हिसाबले पनि २ पांग्रेमा प्रवेश गर्न सहज छ । पेट्रोलियम २ पांग्रे सवारीमा तेल, मर्मत सम्भार लगायतको अतिरिक्त खर्च बढी नै छ । नेपाल, भारत, चीनका सवारीसाधन प्रयोगकर्तालाई हेर्दा धेरै उपभोक्ताको पहिलो इलेक्ट्रिक सवारी २ पांग्रे नै हुने गरेको छ ।
विद्युतीय सवारी बिक्री गर्नु अघि हामीले धेरै अध्ययन गरेका छौं । भारत वा चीनमध्ये कुन मुलुकबाट २ पाग्रे ल्याउने भनेर । हामीले अध्ययन गरेका विभिन्न कम्पनीमध्ये प्योर इभीको स्कुरट उत्कृष्ट देखियो । प्योर इभी भारतको हैदरबादमा आफ्नै उद्योग भएको कम्पनी हो । र, यसका उत्पादन विश्वासिलो र भरपर्दो र्छे । आईआईटी हैदरबादको प्राविधि सहयोगमा स्थापना भएको कम्पनी पनि हो । यो भारतको उत्कृष्ट ३ कम्पनीमध्ये एक हो ।
विद्युतीय सवारीमा कम्पनीको दीर्घकालीन योजना छ । साथै यसको उत्पादन दीगो, बलियो, भरपर्दो हुनुका साथै वारेन्टि सहित उपलब्ध छ । कम्पनीले इलेक्ट्रिक मोटरसाइक पनि कम्पनी सन् २०२२ मार्चमा सार्वजनिक गर्दैछ । त्यो मोटरसाइकल पहिलो दिनमै नेपालमा सार्वजनिक गर्ने छौं । इलेक्ट्रिक सेग्मेन्टमा ३ र ४ पांग्रेमा पनि जाने कम्पनीको योजना छ । यसले पनि प्योर इभी रोज्न मद्दत गर्यो । लङ टर्म पार्टनकोरुपमा प्रिन्सिपल कम्ननीको रुपमा प्योर इभीलाई रोजेका हौं ।
पेट्रोलिय पदार्थको मूल्य निरन्तर उकालो लाग्दो क्रममा छ । साथै, नेपालमा जलविद्युतको मागको तुलनमा उत्पादन धेरै भएर निर्यात पनि शुरु भइसकेको छ सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसबाट कतिको उत्साहित हुनु हुन्छ ?
विद्युतीय सवारीका लागि अहिले उचित वातावरण निर्माण हुँदैछ । पेट्रोलियम पदार्थमा हुने मूल्य वृद्धिका कारण नियमित आय स्रोत हुनेलाई खर्च व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । यी कारण पनि विद्युतीय भेहिकलमा चासो बढेको छ । कम्पनीको देशैभरीका डिलरको रिर्पोट हेर्दा उपभोक्ताको चासो र बिक्री बढ्दो क्रममै देखिन्छ । यसबाट हामी उत्साहित छौं । विद्युत उत्पादन बढेर भारतमा निर्यात पनि शुरु भइसकेको छ । सामाजिक सञ्जालमा भारतलाई कम मूल्यमा विद्युत वितरण गरेर नेपाली उपभोक्तालाई बढी मूल्यमा बिक्री गरेको पनि सुन्न आइरहेको छ । स्वदेशमै विद्युतको उपयोग बढाउनेतर्फ पनि सरकार केन्द्रीत छ ।
प्योर इभीका ३ सयभन्दा बढी विद्युतीय स्कुटर उपभोक्ताले प्रयोगगरी सक्नु भएको छ । उहाँबाट पनि सकारात्मक प्रक्रिया प्राप्त भएको छ । पेट्रोल स्कुटर चढ्नु र विद्युतीय स्कुटर चढ्नुमा तत्विक भिन्नता छैन । लागत र पर्फमेन्सको हिसाबले विद्युतीय स्कुटर राम्रो छ । पेट्रोल स्कुटरमा हुने दैनिकी खर्च बचत गर्न सकिन्छ । यो हिसाबले पनि उपभोक्ताहरुले प्योर इभीका स्कुटर मन पराउनु भएको छ । आर्थिक कारणले गर्दा पनि अब धेरै नेपाली विद्युतीय सवारीमा प्रवेश गर्न सक्ने विश्वास लिन सकिन्छ ।
नेपालमा विद्युतीय २ पांग्रे बिक्री गर्ने करिब २ दर्जन कम्पनी छन् । तर, गत वर्षको सवारी आयातको तथ्यांकलाई विद्युतीय २ पांग्रेको अवस्था निकै दयनिय छ । यस्तो अवस्थमा विद्युतीय सवारी बिक्री गर्ने कम्पनी बजारमा टिक्न सक्छन् ?
हामीले नेपालमा प्योर इभीका स्कुटर भित्र्याउन अघि १८ महिना अध्ययन गरेका छौं । विद्युतीय सवारीका जानकारहरुसँग छलफल गरेका छौं । सरकारले पनि विद्युती सवारीलाई नीतिगत रुपमा प्रवद्र्धन गरेको छ । सरकारको नीति स्थायी रुपमा रहन्छ कि रहदैन भन्ने कुराले महत्वपूर्ण भुमिका खेल्छ । त्यससँगै नेपालमा विद्युतीय सवारी एसेम्बलिङ गर्दा कस्तो रहन्छ र सरकारको नीतिगत सहयोग र प्रावधान कस्तो रहन्छ भनेर अध्ययन गरेर प्योर इभीको बिक्री वितरण शुरु गरेका हौं । गत आर्थिक वर्ष करिब २३ सय वटा विद्युतीय २ पांग्रे आयात भएको छ ।
यसको बिक्री गर्ने कम्पनी करिब २ दर्जनको हाराहारीमा छन् । धेरै आयातकर्ता पटके आयातकर्ता जस्ता पनि देखिन्छन् । केही कम्पनीहरु एक लट विद्युती सवारी आयात गरेको २, ४ महिनामा हराएर जाने पनि हामीले देखेका छौं । त्यसका उहाँहरुको आफ्नै कारणहरु होलान् । प्योर इभी नेपालमा बिक्री शुरु भएको कार्तिक २९ गते एक वर्ष पुरा भएको छ । उक्त अवधिमा ब्राण्ड प्रतिको विश्वास केही हदसम्म कायम गर्न सफल भएका छन् । बुवाले चढेको पेट्रोलियम मोटरसाइकल छोराले पनि त्यही ब्राण्ड पाउँदा निश्चिन्तता छ । हामी पनि सोही अभियानमा छौं ।
त्यसका साथै आर्थिक र प्रदुषणको बाटो पनि छ । पेट्रोलिय सवारीको तुलनामा विद्युतीय सवारी चढ्दा व्यक्तिगत खर्च बचत हुनुका साथै मुलुकलाई पनि आर्थिक रुपमा टेवा पुग्छ । पेट्रोलिय पदार्थको आयातमा मुलुकबाट वार्षिक रुपमा खर्बै रुपैयाँ बाहिरिने गरेको छ । पछिल्लो समय शिक्षत युवाहरु इलेक्ट्रिक स्कुटरमा सिफ्ट हुनु भइरहेको छ । यसले पनि विद्युतीय सवारीको भविष्य उज्जवल देखिछ ।
एक पटक आयात गरेर हराउने कम्पनीहरु थुप्रै छन् । दीर्घकालीन सेवालाई ध्यान राखेर विद्युतीय सवारी बिक्री गर्ने कम्पनी २, ३ वटा छन् । त्यसमध्ये प्योर इभी पनि एक हो । आयात र बिक्रीको डाटा हेर्दा भारतबाट सोर्सिङ गर्ने कम्पनीमध्ये हामी नम्बर एकमा छौं । नम्बर एकको ताज जोगाउनका लागि पनि अरु प्रोडक्ट थप्दैछौं ।
हजुर आफै भन्नु हुन्छ नेपालमा पटके इलेक्ट्रिक सवारी बिक्री गर्ने कम्पनी धेरै छन् । यसले गर्दा पनि इलेक्ट्रिक सवारी किन्न खोज्ने ग्राहकमा बिक्री पछिको सेवा नपाउने हो कि भन्ने आशंका पनि देखिन्छ । यसले गर्दा पनि अपेक्षित रुपमा इलेक्ट्रिक सवारीको बिक्री बढ्न नसकेको त हैन ?
हामीले अध्ययनको समयमा अनुभव गरेको कुरा पनि यही हो । हामीले इलेक्ट्रिक सवारी चढी रहेका करिब ५० जना व्यक्तिसँग सर्भे गरेका थियौं । उहाँहरु सबैको एउटै गुनासो भनेको हामीले इलेक्ट्रिक सवारी खरिद गर्यो तर आयातकर्ताहरुले आयात बन्द गर्नु भयो । यसले स्पयेर पार्टस्को अभावमा रहरले खरिद गरेको सवारी थन्क्याएर राख्नु परेको छ । तत्कालिन समयमा उहाँहरुलाई पुरानो प्रविधिको लिड एसिड ब्याट्रीको सवारीसाधन दिइएको थियो । हालको बजार लिथियम आयनको छ ।
त्यो समयमा वारेन्टीको सवालमा अहिले खरिद गरियो भोलि बिग्रियो भने बिक्रेताको जिम्मेवारी छैन भन्ने गरिन्थ्यो । त्यो समयमा पनि इलेक्ट्रिक सवारी प्रतिको मायाले उहाँहरुले खरिद गर्नु भएको थियो । प्योर इभीका स्कुटर आकर्षक हुनुका साथै वारेन्टी पनि छ । प्योर इभीका खरिद गर्ने उपभोक्ताले ब्याट्रीमा ३ वर्षको वारेन्टी पाउनु हुन्छ । साथै कम्पनीका इन्जिनियरहरु हैदरवादबाट तालिम लिएकाहरु हुनु हुन्छ । स्कुटर आयात गरेको पहिलो दिनदेखि नै ठूलो परिणामा स्पेयर पार्टस् आयात गरेर राखेका छौं । कम्पनीको डिलर बन्न अनिवार्य तालिम लिनु पर्छ । कम्पनीको केन्द्रीय कार्यालय नक्सालबाट डिरलका इन्जिनियर तथा प्राविधिकले तालिम लिएपछि मात्रै लिडरशिपको सम्झौता गर्ने गरेका छौं । साथै डिलरले पनि आवश्यक मात्रमा स्पेयर पार्टस् संचय गरेर राख्नु पर्छ । प्रत्येक डिलरमा पर्याप्त मात्रमा स्पेयर पार्टस उपलब्धताको सुनिश्चित गरेका छौं ।
विगतमा उपभोक्ताले भोग्नु परेको असहज परिस्थित अबको पुस्ताले सामना गर्नु नपरोस् भनेर हर सम्भव प्रयास गरेका छौं । हाल कम्पनीको मुलुकभर १२ वटा डिलरहरु छन् । डिलर लिन चहानेको मात्र धेरै छ । तर हाम्रो काम गर्ने तरिकासँग तरतम्य मिल्नेलाई मात्र डिलर दिइ रहेका छौं । हाम्रो सबै डिलरमा ग्राहकले थ्रीएस (सेल्स, सर्भिस, स्पेयर) सेवा पाउँछन् । काठमाडौं उपत्यका बाहिरको डिलरकोमा सर्भिस दिन नसक्ने अवस्था आएमा काठमाडौंबाट इन्जिनियरहरुको टिम पठाएर पनि सेवा दिइरहेका छौं ।
बजारमा थुप्रै विद्युतीय २ पांग्रे छन् । ग्राहकले किन प्योर इभी नै रोज्ने ?
बजारमा उपलब्ध विद्युतीय २ पांग्रेमध्येमा सबैभन्दा बढी भ्यलू फर मनीका प्रोडक्ड प्योर इभीसँग छ । प्योर इभीको मूल्य अनुसारको पर्फमेन्सलाई उपभोक्ताले मन पराइ राख्नु भएको छ । विद्युतीय सवारी किन्ने धेरै उपभोक्ता शिक्षित वर्गका हुनु हुन्छ । नियमित आयस्रोतबाट सवारी किन्ने व्यक्ति हुनु हुन्छ । ग्राहकहरु विद्युतीय सवारीको बारेमा इन्टरनेटमा अध्ययन तथा अनुसन्धान गरेर आउनु हुन्छ ।
कम्पनीको मूख्य शोरुम नक्सालमा आउने उपभोक्ताहरु पनि वरीपरि रहेका ५, ६ वटा विभिन्न ब्राण्डको शोरुम भ्रमण गरेर तुलनात्मक अध्ययन गरेर आउनु हुन्छ । भारतीय ब्राण्ड जसमा ३ वर्षको वारेन्टी भएकाले पनि उपभोक्ता हाम्रो उत्पादनलाई विश्वास गरेर खरिद गर्नु हुन्छ । कम्पनीको मुलुकभर डिलर नेटवर्क छ । सर्भिसका लागि तालिम इन्जिनियरहरुको टिम छ । स्पेयर पार्टस्हरु पनि सरल मूल्यमा उपलब्ध छन् । यी लगायत कारणले धेरै उपभोक्ताहरु प्योर इभीका स्कुटरहरु प्रति आकर्षित हुनु हुन्छ ।
प्योर इभीसँग कति प्रकारका इलेक्ट्रिक स्कुटर छन् ?
प्योर इभीसँग ३ मोडलका इलेक्ट्रिक स्कुटर छन् । ३ वटा मोडलका कारण उपभोक्ताले आफ्नो बजेट अनुसारको सवारीसाधन खरिद गर्ने विकल्प पनि प्राप्त गर्नु भएको छ । इन्ट्रान्स प्लस १ लाख ९९ हजार रुपैयाँमा नेपालमा दर्ता भएको तथा वारेन्टी उक्त स्कुरट प्राप्त गर्न सक्नु हुन्छ । त्यस्तै २ वटा उच्च गतिका इन्ट्रान्स नियो र इ–प्लोटो ७ जी छ ।
प्योर इभीको भारतमा ८ वटा मोडलका स्कुटर उपलब्ध छ । ती सबै मोडल कम्पनीले नेपाल ल्याएन । हामीले नेपालको बाटोलाई सुहाउँदो, नेपालमा दर्ता हुने, नेपालीको बानी व्यहबारसँग मिल्ने उच्च क्षमताका स्कुटर मात्र ल्यायौं । तल्लो क्षमताका स्कुटर नेपालमा ल्याएनौं ।
एक्सचेञ्जको सुविधा कस्तो छ ?
धेरै उपभोक्ताहरुले पेट्रोलियम सवारीसँग साटेर प्योर इभीका स्कुटर खरिद गर्नु भएको छ । सवारी खरिद गर्ने उपभोक्तासँग रिभ्यू पनि लिने गरेका छौं । उहाँहरुबाट प्राप्त प्रतिक्रिया राम्रो छ ।
२, ३ लाख रुपैयाँ खर्च गरेर खरिद गर्ने सवारीसाधनको ब्याट्रीमा ३ वर्षका वारेन्टी छ । व्यवहारीका रुपमा प्योर इभीका ब्याट्री ५, ७ वर्षसम्म टिक्छ । पुराना उपभोक्ताले नन् ब्राण्डेड र वारेन्टी नभएको स्कुटर किन्नु भएको थियो । उहाँहरुलाई पनि सहयोग गरिरहेका छौं । हाम्रा कतिपय डिलर तथा सर्भिसमा अनुभवी साथीहरु हुनुहुन्छ । उहाँहरुले विगतमा बिक्री गर्नु भएको विद्युतीय स्कुटरहरु स्पेयर पार्टस्को अभावमा थन्किएको थियो । त्यस्ता सवारीमा प्रयोग गर्न मिल्ने प्योर इभीका स्पेयर पार्टस् बजारमा उपलब्ध गरायौं । प्योर इभीका पार्टस्का कारण थन्किएका विद्युतीय स्कुटर चालु अवस्थामा आएका छन् । हामीले प्योर इभीका सवारीसाधनलाई मात्र नभएर नन् ब्राण्डेड स्कुटरलाई पनि आफ्नो डिलर नेटवर्कमा उपलब्ध सर्भिस दिइरहेका छौं ।
ब्यापार विस्तार गर्ने चरणमा हुनुहुन्छ । पहिलो चरणमा ३ वटा विद्युतीय स्कुटरबाट शुरु गर्नु भयो । अहिले विद्युतीय साइकल पनि आफ्नो पोर्टफोलियमा थप गर्नु भयो । अब कम्पनीले थप नयाँ के के प्रोडक्ट ल्याउँदै छ ?
हामी विद्युतीय सवारीसाधन बिक्री गर्ने भनेर बजारमा आएका हौं । अबको भविष्य विद्युतीय सवारीको हो । मलाई पेट्रोलियम सवारी प्रति कुनै पूर्वाग्राह छैन । त्यो हुँदा हुँदै पनि विश्वका ठूला सवारीसाधन उत्पादक कम्पनीहरु पनि अबको १० देखि १५ वर्षमा विद्युतीय सवारी उत्पादनमा केन्द्रीत छन् । यो वृद्धि भइरहेको बजार हो । प्योर इभीका विद्युतीय स्कुटर बिक्री गरि राखेका छौं । गत महिना अटोनिक्स ब्राण्डको इलेक्ट्रिक साइकल बिक्री शुरु गरेका छौं ।
अबको ४ देखि ६ हप्तामा २ ब्राण्डको इलेक्ट्रिक मोपेड सार्वजनिक गर्दै छौं । त्यो मोपेड भनेका इलेक्ट्रिक स्कुटर जस्तै काम गर्छ । त्यसमा प्याडल हुने भएकाले लाइसेन्स आवश्यक नपर्नुका साथै वार्षिक कर तिर्नु पनि तिर्नु पर्दैन । त्यसमा २ वटा मोडल डेलिभरीमा प्रयोग हुन्छन् । डेलिभरी कम्पनीमा काम गर्ने साथीहरु पाछाडि ब्याक बोकेर अफ्ट्यारो गरी शक्तिशाली मोटरसाइकलहरु प्रयोग गरिराख्नु भइरहेको छ । बढी इन्धन खपत गरेर काम गरिराख्नु भएको छ । हामीले उपलब्ध गराउने डेलिभरी सवारीले उही काम इन्धन खर्च कटौती गरेर लिन सकिन्छ ।
हजुरले डेलिभरी गर्ने इलेक्ट्रिक सवारी बजारमा ल्याउने बताउनु भयो । यसका लागि डेलिभरी कम्पनीसँग टाइअपको योजना बनाउनु भएको छ कि । सिधै उपभोक्तालाई बिक्री गर्ने लक्ष्य छ ?
धेरै डेलिभरी कम्पनीहरुसँग कुराकानी गरिरहेका छौं । अहिले पनि प्योर इभीका स्कुटरहरु डेलिभरीले प्रयोग गरिराख्नु भएको छ । प्योर इभीका स्कुटर निजी प्रयोजनका लागि निर्माण भएको सवारी हो । डेलिभरी सवारी पूर्ण रुपमा मेटल बढीले बनेको हुन्छ । व्यावासायीक प्रयोजनमा प्रयोग गर्न मिल्नेका साथै प्रत्येक दिन एक सय किलोमिटरभन्दा बढी सञ्चालन गर्न सकिन्छ । निजी सवारी लुक्समा ध्यान दिइएको हुन्छ भने व्यावसायीक स्कुटर बलियो गरी निर्माण गरिएको हुन्छ ।
ह्वाइट लोटस मोटर्सले प्योर इभी नेपालमा बिक्री वितरण शुरु गरेको एक वर्ष पुरा भइसकेको छ। यस अवधिमा कम्पनीको अनुभव कस्तो रहर्यो ?
एक वर्षको अवधि कम्पनीका लागि निकै फलदाय रहर्यो । हामीले मेहनत पूर्वक अनुसन्धान गरेर प्योर इभी नेपालमा बिक्री वितरण शुरु गरेका थियौं । ग्राहकको विश्वास र भरोसाबाट निकै उत्साहित छौं । राज्यको तर्फबाट पनि सहयोग प्राप्त भइरहेको छ । भन्सार दरको सहुलियत निरन्तर छ । बागमती प्रदेश बाहेक अन्य प्रदेशमा इलेक्ट्रिक सवारीमा वार्षिक कर लाग्दैन । आकर्षण लुक्स र दैनिकी खर्च बचत हुने भएकाले पनि प्योर इभीका उत्पादनबाट ग्राहक सन्तुष्ट हुनु हुन्छ । ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सकेकाले कम्पनी उत्साहित देखिएको छ ।