अवैध रूपमा २ लाख अमेरिकी डलर पोखरा भित्र्याउँदै गर्दा एक व्यक्ति पक्राउ

पोखरा । कास्की प्रहरीले अवैध रूपमा लाखौँ डलर पोखरा भित्र्याउँदै गर्दा एक व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार कास्की प्रहरीले चेकिङ गर्ने क्रममा ती व्यक्तिलाई १ लाख ९४ हजार २०० अमेरिकी डलर सहित पक्राउ गरेको हो । मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ हाल पोखराको शिवालय चोकमा बस्दै आएका छिरिङ डुन्डुक गुरुङ नाम गरेका व्यक्ति पक्राउ परेको हो ।

उनले माइक्रोको सिटमुनि झोलामा १ लाख ९४ हजार २०० अमेरिकी डलर प्याकिङ गरेर राखेका थिए । पक्राउ परेको डलर नेपाली मुद्राअनुसार २ करोड ३२ लाख ६ हजार ९०० रुपैयाँ बराबर हुन आउने प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले यो घटना संगठित अपराध रहेको र थप कुरा खुलाउन नसकिने भन्दै शनिबार गुरुङलाई सार्वजनिक गरेको छ ।

डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले दुईवटा मोबाइल, नेपाली नागरिकता र एकथान चेकबुक पनि बरामद गरेको छ ।

गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग काठमाडौंको जिम्मा लगाइने कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स