ब्राउनसुगरसहित आमा-छोरा पक्राउ

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा-छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका-६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर-५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा-छोरा नै ब्राउनसुगर कारोबारी हुन् ।

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो ।

उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर-५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका-४ घर भई हाल तुलसीपुर-६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स