काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई प्रभावित पार्ने गरी आएको मौद्रिक नीति परिमार्जन हुने बताएका छन् । पुँजीबजार लगानीकर्ताहरूको संगठन नेपाल इन्भेष्टर्स फोरम तथा सेयर लगानीकर्ता संघसँगको भेटमा अर्थमन्त्री शर्माले मौद्रिक नीति परिमार्जन हुने बताएका हुन् । मौद्रिक नीतिले सेयर बजारलाई नकारात्मक असर पार्ने लगानीकर्ताहरूको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा एउटा व्यक्ति वा फर्मले एउटा बैंकबाट ४ करोडभन्दा कर्जा लिन नपाउने व्यवस्था गरेको छ । लगानी कर्ताले लिने सेयर धितो कर्जा बढीमा ३ वटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था मौद्रिक नीतिले गरेको हो ।
मौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई निरुत्साहित गरेको, लगानीकर्ताहरूको संविधानले प्रत्याभूति गरेको संवैधानिक हकलाई कुण्ठित बनाएको गुनासो लगानीकर्ताहरूले गरेका छन् । अर्थमन्त्री शर्मासँग लगानीकर्ताहरूले मौद्रिक नीतिमा गरिएको सेयर धितोकर्जा सम्बन्धी व्यवस्था पुनरावलोकन हुनुपर्ने मागका राखेका छन् ।