बनियानी । झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन् ।
तोरीखेतीलाई प्रवर्द्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन्भने सङ्घीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले राससलाई जानकारी दिए ।
सङ्घीय सरकारबाट तोरीखेती प्रवर्द्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा रु २० लाख र मेचीनगर नगरपालिकामा ३० लाख आएको उनले बताए । ‘स्थानीय तहहरूले समेत आ–आफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्’, उनले भने, ‘जसले गर्दा जिल्लामा तेहलन बालीतर्फ किसान आकर्षित भइरहेका छन् ।’
झापामा तोरीखेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरीखेती गरिएकामा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरीखेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरीखेती गरिएको छ ।
गत वर्षको सुरुआतमै रु पाँच हजार चार सयमा प्रतिमन (४० किलो) बिक्री भएको तोरी यस वर्ष करिब रु छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् ।
स्थानीय तहको प्रोत्साहन
भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरीखेतीमा अनुदान कार्यक्रम लागू गरेपछि यस वर्ष यहाँका किसानले पाँच सय ३३ हेक्टरमा तोरीखेती गरेका छन् । गत वर्ष भद्रपुरमा दुई सय हेक्टरमा तोरीखेती गरिएको थियो ।
नगरभरिका आठ सय ८९ किसानले पाँच सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिए । तोरीखेती प्रवर्द्धनका लागि नगरपालिकाले न्यूनतम १० कठ्ठा खेती गर्ने किसानलाई प्रतिकठ्ठा रु छ सय अनुदान दिने गरेको उनले बताए । गत वर्ष नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २३ लाख अनुदान उपलब्ध गराएको थियो ।