एकपछि अर्को सरकारी संस्थानका कर्मचारी व्यवस्थापनको विरुद्ध आन्दोलित, आन्दोलनको मोर्चा अहिले डीडीसीमा

काठमाडौं । पछिल्लो केही महिनायता सरकारी संस्थानका कर्मचारी व्यवस्थापनको विरुद्धमा खरो रुपमा उत्रिएका छन् । नेपाल टेलिकम र नेपाल वायु सेवा निगमका कर्मचारीको आन्दोलन सेलाउन नपाउँदै फेरि पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै डीडीसीका कर्मचारी व्यवस्थापनसँग रुष्ट भएर आन्दोलनमा उत्रिएको डीडीसी कर्मचारी संघका महासचिव आयुव अली खानले जानकारी दिए ।

संघमा आवद्ध कर्मचारीहरू महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीका विरुद्धमा उत्रिएर महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेश गर्न नदिएका हुन् । कर्मचारी संघले २ दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

‘हामीले असोज २ गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा राकेका हौं,’ उनले भने ‘संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको हो ।’

उहाँहरू संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनले जानकारी दिए । डीडीसीका निमित्त उपमहाप्रबन्धक अधिकारी बालाजु दुग्ध विकास आयोजनाको प्रमुख रहँदा एक करोडभन्दा बढी रकम अनियमितता गरेको र त्यो जोगाउन महाप्रबन्धक पौडेल लागेको कर्मचारीहरूको आरोप छ ।

अनियमितता आरोप लागेका व्यक्तिलाई प्रमाण नष्ट गर्न बल मिल्नेगरी महाप्रबन्धकले भूमिका खेलेको उनीहरूको भनाइ छ । कर्मचारीको आन्दोलनका कारण आफूहरु कार्यालय जान नसकेको र अहिले बालाजु आयोजनामा गएर काम गरिररहेको डिडिसीका महाप्रबन्धक पौडेलले बताए । दुई वर्षअघि दुग्ध विकास आयोजना बालाजुमा कर्मचारीको हेलचेक्रयाँइका कारण करोड मूल्य बराबरको धूलो दूध र मख्खनमा भएको क्षतिमा संलग्नलाई महाप्रबन्धक पौडेलले संरक्षण गरेको आरोप कर्मचारीहरुको छ ।

कर्मचारीको आन्दोलनका कारण महाप्रबन्धक र उपमहाप्रबन्धक दुबैजना कार्यालय गएका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स