काठमाडौं । सरकारले चालु आवको आर्थिक विधेयक मार्फत प्याजमा मूल्य अभिवृद्धि कर लगाएपछि आकासिएको प्याजको मूल्य फेरि बढ्ने भएको छ । भारत सरकारले प्याजको न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० अमेरिकी डलर अर्थात प्रतिकिलो ६७ भारतीय रुपैयाँ तोकेको छ । आगामी डिसेम्बर ३१ सम्म लागू हुने गरी तोकिएको उक्त मूल्यले आन्तरिक बजारमा फेरि ब्याजको भाउलाई बढाउने निश्चित भएको छ ।
भारतले आन्तरिक बजारमा प्याजको मूल्यमा उच्च वृद्धि भएपछि निर्यात नियन्त्रण गर्न भारतले यो निर्यात रणनीति बनाएको हो । भारत सरकारले पर्याप्त आन्तरिक उपलब्धता सुनिश्चित गर्न र प्याजको मूल्य स्थिर राख्नको लागि निर्यात नियन्त्रण गर्नेगरी नीति लिएको हो ।
भारत सरकारले आइतबारदेखि लागू हुने गरी भारतले गत अगस्ट महिनादेखि प्याज निर्यातमा ४० प्रतिशत शुल्क लगाउँदै आएको छ । उक्त निर्यात शुल्क पनि आगामी डिसेम्बरसम्म कायम रहनेछ । पछिल्लो साता भारतमा प्याजको खुद्रा मूल्य करिब दोब्बर वृद्धि भएको छ । एक साता अघि प्रतिकिलो २५ देखि ३० भारुमा बिक्री भइरहेको प्याज अहिले ५० देखि ६० भारु पुगेको छ ।
भारतको यो कदमले आन्तरिक मूल्य निणन्त्रणमा मद्दत पुग्ने देखिएपनि भारतबाट प्याज निर्यात हुने बंगलादेश, नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स र श्रीलंकालगायत देशहरूमा भने प्याजको मूलय बढ्ने छ ।