दोब्बर बढी मूल्यमा अलैंचीको कारोवार

काठमाडौं । बजारमा यस वर्षको नयाँ अलैंची आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको छ ।

बजारमा नयाँ अलैंचीले उचित मूल्य पाउन थालेसंगै किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज ४० किलोग्राम नयाँ अलैंची ५६ हजार रुपैंयाँसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैंचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैंची ४० किलोग्रामको ५५ हजारदेखि ५६ हजार रुपैंयाँसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैंची बजारमा आउन थाल्दा ४० किलोग्रामको २४ हजारदेखि २७ हजार रुपैंयाँ मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैंचीले उचित मूल्य पाइरहेको बताए ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैंचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैंची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ । नेपालमा उत्पादन हुने अलैंचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यस वर्ष अलैंची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैंची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैंचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैंची उत्पादन हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स