उत्पादन बढेसंगै जुटको मूल्यमा गिरावट

काठमाडौं । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे संगै जुटको मूल्यमा भने गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले बताए ।

मोरङमा विगतका वर्षमा प्रति हेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंहले बताए । आव २०७८÷७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार रुपैंयाँ थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल नौ हजार रुपैंयाँ थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल आठ हजार तीन सय रुपैंयाँ पुगेको ज्ञान केन्दले जनाएको छ ।

कोशी प्रदेशमा छ हजार नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ ।

जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवर्द्धन कार्यक्रमअन्तर्गत २० हजार रुपैंयाँका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ । मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ । झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स