काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीले कालोबजारी गरेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ । विभागले काठमाडौं उपत्यकामा हिजो मंगलबार २० वटा तरकारी फर्ममा अनुगमन गरेको हो ।
मंगलबार विभागले अनुगमनका क्रममा १२ वटा तरकारी फर्ममध्य ६ वटालाई २० हजार र ६ वटालाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । बाँकी ८ वटा फर्मलाई कागजात माग गरेको छ केहिलार्य निर्देशन समेत दिएको छ ।
सोमबार १४ वटा फर्ममा अनुगमन गरेको विभागले बढी मूल्य लिने ४ वटालाई जरिवाना तिराएको थियो । प्याजको मूल्य मनलाग्दी बढाउने बल्खु, जोरपाटी, गोकर्णेश्वर, नरेफाँट, तीनकुने, आदर्श र भक्तपुरका १६ फर्मलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको हो ।
वाणिज्य विभागले प्याजमा कालोबजारी नियन्त्रण गर्न सबै जिल्ला प्रशासन र काठमाडौं उपत्यकाका स्थानीय तहलाई पनि पत्राचार गरेको जनाएको छ ।
भारतले निर्यातमा कर लगाएको समाचार बाहिरिएपछि व्यापारीहरूले आफूसँग फर्ममा भएको प्याजको भाउ बढाएका हुन् । शनिबारसम्म प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भइरहेको प्याजको मूल्य सोमबारदेखि एक्कासी ९० रुपैयाँ पुर्याएका थिए ।
यसअघि पनि सरकारले बजेटमार्फत ब्याजमा मूल्य अभिवृद्धि कर लगाउँदा ब्याज व्यापारीले ५० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य बढाएर १३० रुपैयाँसम्म पुर्याएका थिए । पछि आन्तरिक राजस्व विभागलगायतबाट करका विषयमा स्पष्ट पारेपछि पछि व्यापारीहरूले प्याजको मूल्य घटाएर ६०–७० रुपैयाँ पुर्याएका थिए ।
भारतले शनिबारदेखि लागू हुनेगरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने घोषणा गरेको छ । नेपालमा मागको २० प्रतिशत प्याज मात्र आन्तरिक उत्पादनले धान्छ । बाँकी ८० प्रतिशत भारतबाटै आयात हुने गरेको छ । गत वर्ष भारतबाट नेपालमा ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलोभन्दा बढी प्याज आयात गरेको थियो ।