‘गण्डकी । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।
महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरीपालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो । महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३, १४, २२, २३, २४, २५, ३१ र ३३ वडामा तरकारी, १६, २०, २८ र ३० मा मौरी, १५ र २७ मा आलु, २६ मा चैते धान, १९ मा उवा, २१ मा सुन्तला र ३२ मा उखु खेतीको पकेट क्षेत्र तोकिएको छ । व्यावसायिक कृषिको क्षेत्र विस्तार र उत्पादनमा आधारित रहेर किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महाशाखा प्रमुख कडरियाले बताए । ‘अधिकांश वडामा १२ लाख हाराहारीको बजेट प्रोत्साहन रकममा खर्च भएको छ’, उनले भने, ‘कृषिमा आकर्षण बढाउन र वडालाई कृषि पकेटका रुपमा विकास गर्न महानगरले यो कार्यक्रम सञ्चालन गरेको हो ।’
वडा नं १९ मा रैथाने बाली प्रवर्द्धनअन्तर्गत उवा खेती गर्ने किसानलाई पाँच लाख प्रदान गरिएको महाशाखाले जनाएको छ । सो वडामा झन्डै एक हजार रोपनी क्षेत्रफलमा उवा खेती गरिँदै आएको छ । वडा नं २१ मा सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रमअन्तर्गत दुई सय ४६ जना किसानलाई प्रतिबोट एक सयका दरले २५ लाख ५० हजार वितरण गरिएको थियो । त्यहाँ २५ हजार पाँच सय बोटमा सुन्तला उत्पादन हुँदै आएको छ ।
चैत धान र व्यावसायिक तरकारी खेती गर्ने २६ र २७ वडाका चार सय १६ किसानले प्रोत्साहन रकम पाएको वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुंगानाले जानकारी दिए । वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ किसानलाई आठ लाख ३८ हजार नौ सय ६८ र व्यावसायिक तरकारी खेती गर्ने चार किसानलाई तीन लाख ३२ हजार एक सय ५० प्रदान गरिएको हो ।
वडा नं २७ मा चैते धान लगाउने एक सय दुईजना किसानले तीन लाख ४८ हजार एक सय ५० र तरकारी खेतीमा लागेका १५ किसानले तीन लाख ७८ हजार छ सय १३ बुझेका हुन् । चैते धान खेती गर्ने किसानलाई प्रति रोपनी नौ सयका दरले प्रोत्साहन रकम दिइएको हो । तरकारीतर्फ प्लास्टिक घर (टनेल)मा खेती गर्नेलाई प्रतिवर्गमिटर एक सय ३० र तरकारीको क्षेत्र विस्तार गर्नेलाई प्रतिरोपनी दुई हजारका दरले प्रदान गरिएको अध्यक्ष ढुंगानाले बताए ।
किसान प्रोत्साहन कार्यक्रमले चैते धान, उवालगायत रैथाने बालीको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको महाशाखा प्रमुख कडरियाले बताए । ‘उत्पादनमा आधारित प्रोत्साहन रकम दिन थालेपछि वास्तविक किसानलाई लाभ मिलेको छ, कृषियन्त्र, उपकरणमा कतिपय किसानलाई अनुदान पनि उपलब्ध गराएका छौं’, उनले भने । वडा नं १६, २०, २८ र ३० मौरीपालक किसानलाई मौरीसहितको घार ५० प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । पोखरा–२६ मा व्यावसायिक तरकारी खेती गर्दै आएका बागलुङका कर्ण पुनले महानगरले दिएको प्रोत्साहन रकमले आफूलाई हौसला मिलेको बताए । उनले एक लाख ५१ हजार प्रोत्साहन रकम प्राप्त गरेका थिए । पुनले १७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।