काठमाडौं । भारतले बासमतीबाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य एवम् उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले बिहीबार सूचना जारी गर्दै बासमतीबाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । भारतले एचएस कोड १००६३०१०/९० मा रहेको नन–बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो ।
महानिर्देशनालयले जारी गरेको सूचनाअघि स्वीकृत भएको अर्डर वा निर्यातका लागि तयार भइसकेको चामलमा भने कुनै असर नपर्ने स्पष्ट पारेको छ । प्रतिबन्धका कारण नेपाली बजारमा चामलको भाउ आकासिने जोखिम बढेको छ ।
गत आवको जेठसम्म भारतबाट १४ अर्ब २३ करोड रुपैयाँ बराबरको २० करोड ६५ लाख किलो चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
समाचार एजेन्सी ब्लूमबर्गले भने भारतले चामल निर्यात गर्ने कुल संख्याको ८० प्रतिशत यो निर्णय पछि प्रभावित हुने छ । जसका कारण भारतमा भने चामलको मूल्य घट्ने तर, विश्व बजारमा भने चामलको भाउ आकासिने उल्लेख गरेको छ ।
भारत विश्वमा चामल निर्यात गर्ने सबैभन्दा ठूलो देश हो । सन् २०२२ सेप्टेम्बरमा समेत भारतले कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै अरु ग्रेडका चामलहरुको निर्यातमा २० प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।