बागमती प्रदेशका दुग्ध किसानलाई अनुदान

काठमाडौं । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैंयाँ अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोड रुपैंयाँ प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो । प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो ।

कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेकोले स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए । उनले भने, ‘चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।’ कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले प्रतिलिटर तीन रुपैंयाँ, माडी नगरपालिकाले चार रुपैंयाँ र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् । अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स