रानीजमरा कुलरिया: १२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन, खेत खेतमा पानी गएपछि किसान हर्षित

२७ अर्ब ७० करोड लागतमा निर्माण

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन् । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरु खुसी हुन् । उसो त आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो ।

‘सदियौंदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ । वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन,’ बडघर घर्तीमगर भने ‘२०५७/५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुसियाली छाएको मात्रै छैन, सपना पूरा भएको छ ।’ उनले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने गरेको बताए ।

आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुसी व्यक्त गरेका छन् । किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन् । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन ।

पटकपटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पु¥याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताए । यस पटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिए । त्यो पानीले १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुनेछ ।

‘हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म तीनवटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौँ,’ आयोजना प्रमुख श्रेष्ठ भने, ‘पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ । अब नियन्त्रितरुपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ । यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ ।’

यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो । पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए ।

हरेक वर्ष कुलाको मुहान खन्न हजारौँ किसानले काम गर्नुपर्ने बाध्यता थियो । किसानले वर्षमा दुईपटक कुला खन्न जानुपर्थ्यो । हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करिब एक महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताए ।

‘आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ । जतिबेला आवश्यक पर्याे त्यहीँअनुसार पानीको व्यवस्थापन गर्न सकिने भएको छ,’ उनले भने ‘हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ । खडेरीका कारण सिँचाइको सहजता नहुँदा हुन नसकेका रोपाइँ अब हुन्छन् ।’

झण्डै ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजनाको रहेको छ । यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो ।

मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन् । जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आम्दानी बढ्ने विश्वास व्यक्त गरिएको छ । ‘सधैँ सहजरूपमा पानी आउने स्थिति यसअघि थिएन । अब १२ महिनै पानी आउने भएको छ । उनले भने ‘किसानलाई व्यावसायिक कृषि खेतीमा पनि सहज हुनेछ । सिँचाइका लागि आपसमा हुने मतभेद पनि अबदेखि किसानमा हुने छैन ।’

२७ अर्ब ७० करोड २३ लाख लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख रुपैयाँ नेपाल सरकार, नौ अर्ब ९५ करोड ५१ लाख रुपैयाँ विश्व बैंकको ऋण र १८ करोड उपभोक्ता समितिको लगानी भएको छ । आयोजनामा हालसम्म १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करिब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । उसरी हेर्दा रानी र कुलरिया कुलोको प्रगति निकै कम छ । जमरा कुलोको प्रगति करिब ७० प्रतिशत प्रगति देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स