काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक विधेयक, २०८० मार्फत आलु प्याजलगायतका खुद्रे सामग्रीको ट्याक्स बढाए । कर बढेपछि बजारमा एकाएक प्याजको मूल्य दोब्बर र कतै कतै तेब्बरसम्म भयो । सरकारले यी वस्तुमा बढाएको ट्याक्स भनेको जम्मा ९.५ प्रतिशतमात्रै हो ।
आर्थिक विधेयकले आलु, प्याज लगायतका वस्तुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएर अग्रिम आयकरमा भने ३.५ प्रतिशतले घटायो । यसअघि ५ प्रतिशत लाग्दै आएको उक्त कर डेढ प्रतिशतमात्रै तिरे पुग्ने भयो । मूल्य अभिवृद्धि कर (भ्याट) दर १३ प्रतिशतबाट ३.५ प्रतिशत घटेपछि यी वस्तुमा थपिएको कर भनेको जम्मा ९.५ प्रतिशतमात्रै हो ।
आर्थिक विधेयक आउनु अघि साविक अवस्थामा सरकारले ९ प्रतिशत कृषि सुधार शुल्क, ५ प्रतिशत अग्रिम आयकरलगाउँदै आएको थियो । अहिले नयाँ करको व्यवस्था आएपछि १३ प्रतिशत भ्याट लगाएर भ्याटमा दर्ता भएका करदातालाई सरकारले डेढ प्रतिशतमात्रै अग्रिम आयकर तिरे पुग्ने भयो । यस अघि अग्रिम कर ५ प्रतिशत लाग्दै आएको थियो । अब भ्याट शीर्षकमा पनि कर लिन थालेपछि अग्रिम कर जम्मा १.५ प्रतिशतमात्रै तिरे पुग्ने भएको हो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आर्थिक विधेयकअनुसार आलु प्याजलगायतका वस्तुमा १३ प्रतिशत भ्याट थपिएको पछि अग्रिम आयकर ३.५ प्रतिशतले घटेको छ । ‘यसको अर्थ जम्मा थपिएको कर भनेको ९.५ प्रतिशतमात्रै हो,’ उनले भने ‘थपिएको कर अनुसार पनि किलोमा जम्मा ९/१० रुपैयाँको मात्रै फरक आउने हो ।
यदि बजेट अघि प्रतिकिलो प्याजको मूल्य ५० रुपैयाँ थियो भने अहिले थपिएर बढी ६० रुपैयाँ मात्रै पर्ने हो ।’ सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा खपत बढाउन र आयातलाई कम गर्न यो नीति लिएको जानकारी समेत उनले दिए । भन्सार मूल्यांकन भएको वस्तुमा सोही मूल्यांकनको आधारमा निर्धारित ट्याक्स लगाइने भएकोले यति हो भनेर अंकमा भन्न नसकिएपनि बढेको दर भने स्पष्टसँग देखिने उनले बताए ।
भन्सार विभागका प्रवक्ता पुण्य विक्रम खड्काले नयाँ दर अनुसार कर लगाएर ती वस्तुहरू आयात हुने गरेको बताए । भन्सार मूल्यांकनको विषयमा भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भने आज आलुको प्रतिकिलो भन्सार मूल्यांकन १५ रुपैया आईसी र प्याजको २५ रुपैयाँ आईसी भएको र सो मूल्यमा कार्यालयले कृषि सुधार शुल्क ९ प्रतिशत, अग्रिम आयकर २.५ प्रतिशत र त्यो करसहित जोडेर आउने मूल्यमा १३ प्रतिशत भ्याट लगाएर भन्सार जाँच पास गरेको बताए ।
भैरहवा भन्सार कार्यालयमा आज प्रतिकेजी प्याजको भन्सार मूल्यांकन २५ रुपैया आईसी रहेको छ र उक्त मूल्यअनुसार नेपाली मूल्य ४० रुपैयाँ हुन्छ । उक्त कार्यालयले गरेको मा भएको भन्सार मूल्यांकन अनुसार कृषि सुधार शुल्कमा ३.६ रुपैयाँ, अग्रिम आयकर कट्टी ०.६ रुपैयाँ गरी कुल हुन आउने २९.२ रुपैयाँमा १३ प्रतिशत भ्याट जोड्दा भ्याट वापत लाग्ने ३.७९ रुपैयाँ गरी जम्मा ३२.९९ रुपैया हुन्छ ।
२५ रुपैयामा आईसी भन्सार मूल्यांकन तथा अन्य कर गरी थपिने रकम भनेको ७.९९ रुपैयाँमात्रै हो । सो करसहितको मूल्यलाई नेपाली विनिमयमा राख्दा ५२.७९ रुपैयाँ पर्ने देखिएको छ ।
व्यापारीको नाफा तथा ढुवानी खर्च प्रतिकेजी १०/१२ रुपैयाँ जोड्ने हो भने पनि बजारमा महँगोमा पनि ६४/६५ रुपैयाँमा प्याज पाउनु पर्ने हो । तर, अहिले मूल्य बढेर प्रतिकेजीको एक सय रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म पुगेको छ । बजारमा यसरी खुलेयाम कालोबजारी हुँदा पनि सम्बन्धित निकायले भने त्यति तदारुकता देखाएको देखिदैन । दिन डाहाढै आम उपभोक्ता ठगिरहेका छन् ।
कालोबजारीका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईसँग कुरा गर्दा बजेट आएको भोलिपल्टदेखिनै आलु प्याजलगायत अन्य उपभोग्य वस्तुको अनुगमन गरेको बताए । यसैबीच बढी मूल्य लिएर प्याज बिक्री वितरण गर्दै आएका लगनखेल र जोरपाटीका दुई व्यापारीलाई विभागले ५/५ हजार जरिवानासमेत गरेको उनको भनाइ छ ।
‘हामीसँग भएको मेनपावरअनुसार हामीले दैनिक यी वस्तुको अनुगमन गरिनै रहेका छौं,’ उनले भने ‘बजारमा प्याजने छैन। एक दुई बोरा प्याज भएकालाई कारवाही गरेर के अर्थ रहन्थ्यो र । प्याजका ठूला गोदाम खाली छन् । कालोबजारी गरेर बढी मूल्य लिएको सूचना आए हामी तत्काल कारवाही गछौं ।’