दूधमा प्रतिलिटर दुई रूपैयाँ अनुदान

इनरुवा । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रूपैयाँका दरले दिने अनुदान प्रदान गरेको छ ।

स्थानीय तथा ग्रामीण क्षेत्रमा भैंसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रूपैयाँका दरले अनुदान रकम प्रदान गरिएको हो । आज नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवा-५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको हातबाट किसानलाई अनुदान रकम प्रदान गरिएको छ ।

डेरीमा प्राप्त दूधको विवरणानुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध संकलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिए । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उनले बताए । ग्रामीण क्षेत्रमा भैंसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आवमा १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताए ।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध संकलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्यांक संकलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स