मलमा अनुदान कटौति नगर्न किसानका छाता संस्थाहरूको सरकारलाई आग्रह, निर्णय फिर्ता नलिए दिनदिनै आन्दोलन गर्ने

काठमाडौं । काँग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिईदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दवाव स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ ।

किसानहरूलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको छ ।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरु गरेका छन । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स