कृषि कर्म गर्न सहरबाट गाउँ फर्किए राई दम्पती

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौंमा होटल व्यवसाय गथ्ये । काठमाडौंको सिनामंगलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गरेका उनको मासिक आम्दानी दुई लाखसम्म थियो ।

छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौं छिरेका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्किएका हुन् । नौ वर्ष काठमाडौँ बसेर गाउँ फर्किएका राई दम्पती अहिले बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जमेका छन् ।

यलम्बर नमूना कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा अपनाएका सुमनलाई श्रीमती सविताको साथ छ । पहिलो चरणमा २० लाख लगानी गरेर ७२ रोपनी जमिनमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले बिक्री गर्न थालेका छन् । छिप्तीस्थित आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय कागतीको बिरुवा रोपेका छन् । गोडमेल गर्न मासिक १५ हजार तलब दिएर उनीहरूले दुईजनालाई जागिर समेत दिएका छन् ।

बहुउद्देश्यीय फार्म सञ्चालन गरेका राई दम्पतीले आवश्यक पर्दा अन्य कामदारसमेत लगाउँदै आएका छन् । दिक्तेल बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौंमा बिक्री गर्दै आएका छन् । कागती प्रतिकिलो एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको सुमनले बताए ।

‘उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय किलो कागती बिक्री भयो । यस वर्ष टिप्न बाँकी छ,’ उनले भने ‘विगत वर्षमा भन्दा यस वर्ष बढी उत्पादन भएको छ ।’

राई दम्पतीको फार्मबाटै पनि कागती बिक्री हुने गरेको छ । फार्ममा हाल सबै बोट सेताम्मे भएर फुल्न थालेका छन् । केहीमा लटरम्म फलेका फल अझै टिप्न बाँकी छ । टिप्न ढिला भएका कारण केही फल भुइँमा झर्न थालेका छन् ।

कामदारलाई फल टिप्न, गोडमेल गर्न, पानी तथा मल हाल्न भ्याइनभ्याइ छ । हावापानीको हिसाबले सहरभन्दा गाउँ राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय सुरु गरेको सुमनको भनाइ छ ।

‘सहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ,’ उनले भने ‘गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले फर्किएको हुँँ । अबको केही वर्षमा कागती नै पर्याप्त आम्दानीको माध्यम बन्छ ।’

जग्गाजमिन पर्याप्त भएका राई दम्पतीले व्यावसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पालेका छन् । विसं २०७३ देखि व्यावसायिक खेती सुरु गरेका उनीहरुले यस वर्ष थप २५ रोपनी जग्गामा कागतीको नयाँ बिरुवा रोप्ने तयारी गरेका छन् ।

अहिलेसम्म करिब रु एक करोड लगानी गरिसकेका राई दम्पतीले कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती थालेका छन् । तीन वर्षअघि २२ रोपनी क्षेत्रफलमा लगाएको लिचीसमेत फल्न थालेको छ । यस वर्ष कफीको चार हजर बिरुवा रोप्ने तयारी छ ।

छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको हिमाली कफी उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेको सुमनले बताए । ‘एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव छैन ।

समूहमा १५ परिवार आबद्ध छौँ । सबैले उत्पादन थाले भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ,’ उनले भने ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पादन बाहिर पु¥याउन सकिन्न । त्यसैले सबैले मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यस पटक निःशुल्क बिरुवा वितरण गर्न लागेका छौँ ।

कृषिका लागि उर्वरभूमि बुइपाका प्राय हरेक घर स्थानीय बासिन्दा केही न केही व्यावसायिक कृषि पेसामा जोडिएका छन् । एक हजार एक सय ३७ परिवारको बसोबास रहेको बुइपाका बासिन्दा लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवं भैँसीपालन व्यवसायमा जोडिएका हुन् ।

कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यावसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडाध्यक्ष दिनेश राईले बताए । ‘सार्कीडाँडामा यसअघि नै ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माणको काम सुरु गरिएको थियो,’ उनले भने ‘यो आर्थिक वर्षबाट बुइपाका सबै सामुदायिक वनमा कफी र एभोकाडोको व्यावसायिक खेती सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले समेत व्यावसायिक कृषि पेसा अपनाउने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ । पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स