भारतले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव

काठमाडौं । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा÷आँटाको चरम अभाव भएको छ । मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला-साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको हो ।

यसले गर्दा कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन् । आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वास्थ्यलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले उनीहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने भएको छ ।

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा/आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको नेपाल मैदा उद्योग संघले जनाएको छ । ‘अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ ।’ संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘मैदा उद्योग कृषिमा आधारित उद्योग मध्य नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । गहुँको अभावमा मैदा/आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारसँग अनुरोध गरेको छ ।’ संघले भन्यो, ‘भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन अनुरोध गरेको छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।’

तसर्थ, ‘भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाईदिन’ संघले सरकारसँग अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स