घट्दै अलैंचीको मूल्य

ताप्लेजुङ । अलैंचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजार रूपैयाँका दरले अलैंचीको कारोबार भएकामा अहिले २४ हजार रूपैयाँमा झरेको छ ।

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैंची व्यवसायीले बताएका छन् । यो वर्ष अलैंचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैंची व्यवसायी नरेन्द्र तिवारीले बताए ।

पछिल्लो समय अलैंचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ । उनले यस वर्ष झन्डै चार सय मन अलैंची जम्मा गरेका छन् । जसमध्ये आधा जसो २९ हजारका दरले किसानबाट लिइसकेका छन् । बजार र मूल्य नभएपछि सबै अलैंची गोदाममै थन्क्याएर राखेको उनले बताए ।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैंची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा–७ खेवाङका किसान राजकुमार भट्टराईले बताए ।

अलैंचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् । गत वर्ष प्रतिमन ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स