कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

बझाङ । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए ।

व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो । १० रूपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनिता गिरीले भनिन्, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौं । हामीले उत्पादन गरेका होइनौं । किनेको मूल्यमा पाँच/दश रूपैयाँ नाफा त खानै प¥यो नि ! ’

उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए । उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे । ‘सिजनअनुसार सबै ठाउँमा १०÷२० रूपैयाँ पर्ने बन्दाको कोहलपुरमा १५० रूपैयाँ भन्यो’, उनले भनिन्, ‘कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगें, निकै अस्तव्यस्त देखियो । मूल्य सोधे, बन्दाको प्रतिकेजी १५० रूपैयाँ । गलत सुनेकी भनेर फेरि सोधें, १५० रूपैयाँ । अर्को स्टलमा सोधें, १५० रूपैयाँ नै । म त ट्वाँ परेँ ।’

प्रमुख विष्टले बन्दाको प्रतिकेजी १५० रूपैयाँ अहिलेसम्म नसुनेकै मूल्य भएको बताए । ‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’’ उनले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ रूपैयाँ छ । बित्थडचिरको आनन्दपुरमा १५ रूपैयाँ , मुस्याखान बैतडीमा १० रूपैयाँ , खोड्पे बैतडीमा १४ रूपैयाँ , अनारखोली डडेल्धुरामा १५ रूपैयाँ , धनगढीको दुवै हाटबजारमा ७० रूपैयाँ , सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो ! ’

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताए ।

यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको संकेत गर्दै प्रमुख विष्टले बताए । व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० देखि १४० रूपैयाँमा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ थियो ।

अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सय रूपैयाँको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । ‘अहिले बन्दाको थोक मूल्यसमेत ८०÷९० रूपैयाँ छ ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स