उखुमा रेडरड रोगको समस्या, यस्तो छ यसका लक्षण

कञ्चनपुर । बेलौरी नगरपालिका-८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । ‘किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ’, उनले भने, ‘अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।’ सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । ‘यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो’, शाखा प्रमुख भट्टले भने, ‘यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।’ चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ ।

अहिलेसम्म एक सय ५० किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ । यसबाट उनीहरुले ५० लाख बढीको नोक्सानी व्यहोरेका छन् । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँछ । ‘उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ’, उनले भने, ‘उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।’ उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उनले बताए । बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स