भजनी । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन् । माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापाले बताए ।
‘मैले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन’, उनले भने, ‘किसानले गड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी छ ।’
गाई भैंसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापाले बताए ।
माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावलले बताए । उनी चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् ।
व्यावसायिक पशुपालनमा लाग्नुभएका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लागेको हो । ‘मैले यसलाई व्यावसायिकरुपमै त लिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ’, उनले भने, ‘सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्बरा शक्ति कायम राख्न यो महत्वपूर्ण छ ।’ उनले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएका छन् ।
प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशीले बताए । उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए ।