रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा अलैंची मासिन थालेपछि किसान चिन्तित

मङ्गलबारे । नगदेबाली अलैंची रोग लागेर मासिंदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।

मकैबारी नै मासेर अलैंची लगाइएकामा विभिन्न रोग लागेर मासिंदै गएको र बचेको अलैंची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाले बताए । ‘‘बारी नै मासेर अलैंची लगाइएको थियो फेरि मर्न थाल्यो’, उनले भने । उक्त बाली मासिंदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।

दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैंची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैंची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैंचीको मूल्य भने प्रतिमन रु ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी सङ्घका देउकुमार रानाले बताए ।

गत वर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैंची उत्पादन भएको थियो तर यस वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैंची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैंची काँचै भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स