कम्पोष्ट मल बिक्रीमा, अडर गरेको १२ घण्टाभित्र घरमै उपलब्ध हुने व्यवस्था

काठमाडौं । असहाय गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउन गाईको गोबर र गहुँतबाट बनेको कम्पोष्ट मल थप गुणस्तरीय बनाएर वितरण सुरु भएको छ ।

नयाँ प्रविधिसहित गुणस्तर वृद्धि गरिएको कम्पोष्ट मल पुन: वितरण प्रारम्भ गरिएको असहाय गाईबाच्छा संरक्षण अभियानले जनाएको छ । अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

तिनै गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतिशत गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानिक माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । कम्पोष्ट मल बिक्रीबाट आउने सबै रकम असहाय गाईबाच्छाको संरक्षणमा प्रयोग गरिने पनि उनले बताए ।

यसअघि विभिन्न व्यक्तिले मल उपलब्ध गराउन आग्रह गर्दागर्दै मलको गुणस्तर वृद्धिका लागि केही समय लागेकाले आजैदेखि फेरि मल वितरणको व्यवस्था मिलाइएको अभियानले जनाएको छ । गुणस्तर वृद्धिका लागि केही समय सेवा उपलब्ध गराउन नसकिएकोमा अभियानले माफी मागेको छ । मलको गुणस्तर राम्रो र मूल्य चलनचल्तीको बजार भाउभन्दा झण्डै आधा कम रहेको छ ।

गाईबाच्छा संरक्षणस्थलमै मल लिन गए प्रतिकेजी १५ रूपैयाँ मूल्य तोकिएको छ । घरसम्म लगिदिने व्यवस्थाका लागि प्रतिकेजी २० रूपैयाँ मूल्य कायम गरिएको छ । घरमै मल मगाउन कम्तीमा २५ केजीको माग हुनुपर्ने जनाइएको छ । कम्पोष्ट मल माग गरेको लामो समयसम्म पनि पाउन नसकिएको गुनासो ग्राहकले गरेका छन् ।

अभियानले भने आजदेखि मागको १२ घण्टाभित्रमा मल घरमै लैजाने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स