विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

बागमती  ।  बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ ।
यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।
विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट ३ अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
पुल तथा सडक बगाएपछि संघीय राजधानी काठमाडौंलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स