काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ८८ करोड ८० लाख रुपैयाँ घाटामा थियो ।
बैंकको खुद ब्याज आम्दानी भने २५.१८ प्रतिशतले घट्दै १ अर्ब ५४ करोड रुपेयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ५७ करोड रहेको छ ।
बैंकले इम्पेयरमेन्ट चार्जका लागि ९० करोड २२ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको कर्मचारीको सेवा सुविधाका लागि ९० करोड ७७ लाख र बैंकको अन्य सञ्चालन २५ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।
बैंकको निक्षेप २ खर्ब अर्बबाट बढेर २ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २ खर्ब १ अर्ब रहेको छ । बैंकले खराब कर्जा अनुपात पनि घटाउन सफल भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.७८ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३.२५ रुपैयाँ र रिटर्न अन इक्विटी १.३७ प्रतिशत रहेको छ ।