एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

बैंकिङ तथा बीमा विज्ञ एवम् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता शारदादेवी भट्टराई र पिता ढुण्डीराज भट्टराईको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।

पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले आज नाफिजका अध्यक्ष मोदनाथ ढकाललाई बुझाएका छन् । भट्टराईले प्रदान गरेको राशी अक्षय कोषका रुपमा रहने छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाएर त्यसैको आधारमा छनोट गरी पुरस्कृत गरिनेछ ।

‘मेरो पुजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखनवृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु,’ हस्ताक्षर कार्यक्रममा भट्टराईले भने ।

उनले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउन आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुबै बढाउनु पर्नेमा जोड दिए ।

नाफिज अध्यक्ष मोदनाथ ढकालले एक लाख राशीको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताए ।

‘यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ’, ढकालले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स