आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिने

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ । हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएकोमा राहदानी विभागले बुधबारदेखि विद्युतीय पासपोर्ट जारी गर्न लागेको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित हुने एक कार्यक्रममा औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ । ई-पासपोर्ट जारी भए तापनि तत्कालै ई-पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

ई पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप रहेको छ। विभागले २० लाख ई-पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।

त्यसैगरी, ई-पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ भने पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा राखिएको छ।

यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ । यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स