मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु

काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा वितरणको सुरुवात गरेका हुन् ।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याएर वितरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए ।

दशैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

वार्तापछि बाढीपीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

विसं २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौंमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स