काठमाडौं । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रतिनिधिसँग भियतनामको पूर्वगृहमन्त्रीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डल आज शिष्टाचार भेट गरेको छ । भेटमा उद्योग, व्यापार, परियोजना सञ्चालन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गरेको हो ।
भियतनाम नेपाल फ्रेन्डसीप एसोसिएसनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री त्रान आन तान नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विभागका प्रमुख पूर्वमन्त्री मोतीलाल दुगड नेतृत्वको प्रतिनिधिहरूसँग छलफल गरेको हो । टोलीमा भियतनामका पूर्वगृहमन्त्री त्रान भान तानको सहभागिता रहेको थियो ।
एमाले उद्योग विभाग प्रमुख मोतिलाल दुडगका अनुसार यो भेटले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गराउने, लगानी, पर्यटन र व्यापर प्रवद्र्धन सहयोग पुग्ने अपेक्षा छ ।
पूर्वमन्त्री समेत रहेका विभागका प्रमुख दुगडले समसामयिक तथा आर्थिक र व्यापारिक विषयमा छलफल भएको जानाकारी दिए ।
उनले भने ‘तपाईहरू आउनुहोस्, नेपालमा लगानी गर्नुस्, हामीलाई मौका दिनुहोस् नेपाललाई विकास गर्नका लागि आफ्नो नाफा लिएर जानुस्।’ ।
उनले भियतनामको प्रतिनिधिमूलक टोलीलाई नेपाल सम्भाव नै सम्भावना भएको देश भएको जानकारी गराए । नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै उनले पोखरा, लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा अझ धेरै पूर्वाधार निर्माणको चरणमा रहेको जानकारी गराए ।