काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिपरेको बताएका छन् ।
गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताएका हुन् ।
‘स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ’, उनले भने । स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । गणेशमान सिंहले नागरिक स्वतन्त्रताका लागि गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँको योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार पुरुर्षोत्तम दाहालले गणेशमान सिंहको जस्तो दृढता र आत्मविश्वास भएको नेता बन्नु पर्ने बताएका छन् । ‘उहाँले सिकाएको संस्कारमा नेपाली कांग्रेस हिड्नु पर्छ’, उनले भने ‘उहाँ समयलाई चिन्ने र सम्मान गर्ने मान्छे हुनुहुथ्यो ।’