बीवाईडी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र साईमेक्स इंक प्रा.लि बीवाईडीेले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसनको उद्घाटन गर्दै दिगो विकासको प्रवर्द्धनतर्फ ठूलो कदम चालेको छ । चार्जिङ स्टेशनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले गरेका थिए ।

बीवाईडीेले चार्जिङ स्टेशन बाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरुको कम्पोनेन्टहरू प्रदान गरेको छ । यी कम्पोनेन्टहरू केयूमा प्रयोगशालाको सेटअपमा महत्वपूर्ण हुनेछन् । विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिहरूसँग प्रत्यक्ष रूपमा सहभागि हुने सहयोग मिल्नेछ ।

‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो, र यस प्रकारको साझेदारी मार्फत, हामी विश्वको वातावरण मैत्री सवारी साधनहरूमा संक्रमणको गति बढाउने लक्ष्य राख्छौं,’ लिउ जुलियाङले भने । उनले यो पनि जोड दिए कि बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको छ । ‘दिगो विकासको प्रवर्द्धनमा शैक्षिक क्षेत्रका संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी छ । काठमाडौं विश्वविद्यालय हाम्रो साझेदार हो र हामी विद्यार्थीहरूलाई व्यावहारिक अनुभव र विकासशील इलेक्ट्रिक कार बजारमा नवीनतम प्रविधिहरूको प्रयोग गर्न चाहन्छौं ।’

यस सहकार्यको फलस्वरूप केयूले बीवाईडीको उद्योग, ज्ञान र अनुभवबाट धेरै लाभान्वित हुने अपेक्षा गरिएको छ । विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र संकाय सदस्यहरूले बढ्दो इलेक्ट्रिक सवारी साधनको बजारमा वास्तविक जीवन सिकाउने अनुभव पाउनेछन् । बीवाईडीले अतिथि व्याख्यानहरू, व्यावहारिक सत्रहरू, तिनीहरूको कम्पनी परिसरमा इन्टर्नशिपहरू र अनुसन्धानका लागि सवारी साधनहरूमा प्रयोग हुने उन्नत उपकरणहरूमा पहुँच प्रदान गर्दछ । यसको उद्देश्य केयूका विद्यार्थीहरूलाई नेपाल र विश्वभरको हरित प्रविधि बजारको लागि तयार पार्नु हो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यको महत्वलाई जोड दिँदै भने, ‘बीवाईडीसँगको यो साझेदारी हाम्रो शैक्षिक पाठ्यक्रममा दिगो ऊर्जा समाधानहरू समावेश गर्ने दिशामा एक प्रमुख कदम हो । यसले हाम्रा विद्यार्थीहरूलाई नेपालमा हरित प्रविधिको भविष्यमा योगदान दिन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ ।’

केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि यो साझेदारीको भविष्यको बारेमा आफ्नो धाराण राखेका थिए । ‘यो योजनामा ईभीको प्राविधिक प्रयोगशाला साथै एक ईभी अनुसन्धान र विकास केन्द्र स्थापना गरिनेछ । बीवाईडीको प्राविधिक र उपकरण सहयोगमा काठमाडौं विश्वविद्यालयमा यो विद्युतीय सवारी साधनको विकासमा मात्रै नभई आउने पुस्ताका लागि विश्वलाई राम्रो ठाउँ बनाउन पनि एउटा कदम हुनेछ,’ डा लामाले थपे । यी प्रयासहरूका साथै, केयू र बीवाईडी मिलेर शिक्षा र प्रविधिको प्रावधान मार्फत राम्रो र हरियाली संसार निर्माणमा काम गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स