मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

काठमाडौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् ।
कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही  एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको जनाइएको छ ।
महासंघका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न अटेर गरेपछि महासंघ मोरङकातर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।
कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो । बीमा अवधिसम्म सङ्क्रमित भएकामध्ये २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए ।
वि.स २०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।
अदालतको अवहेलना मुद्दा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो ।
अदालतको परमादेशलाई पनि अटेर गरेपछि महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्दा दर्ता गरेको थियो ।
उच्च अदालत विराटनगरले गत असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय ममता खनाल र सूर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित सात दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालतले आदेश दिएको थियो ।
 उच्चको आदेश बमोजिम बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले लिखित जवाफ पेस गरिसकेका छन् । अदालतको अवहेलनामा कारवाही मुद्धाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।
गत साउन २२ गते पत्रकार महासंघ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासंघ कार्यालयमा गरिएको अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स