जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए ।

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुप¥यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने ।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे ।

‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,’ गृहमन्त्री लेखकले भने ।

उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौं,’ उनले भने, ‘यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौं । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौं । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौं,’ उनले भने ।

गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरुप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताए । यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताए । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स