काठमाडौं । ग्यास लाइटरको भन्सार मूल्यांकन वृद्धि गर्दा भएको निर्णय पर्चा नै दुईथरी देखिएको छ । भन्सार मूल्यांकन ४ सेन्टबाट ६ सेन्ट बनाएर सबै आयातकर्तालाई एउटै मूल्यांकन तय गरिएपनि निर्णय पर्चा भने आयात कर्ता पिच्छे फरक देखिएको हो ।
आयातकर्ता शुभसिद्धि ट्रेडर्सको हकमा भएको मूल्यांकन बढाएको निर्णय पर्चामा पैठारीकर्ताबाट घोषित मूल्यको सत्यता प्रमाणित गर्ने वस्तुनिस्ठ थप कागजातहरू पेश हुन आएको नदेखिएकाले भन्सार ऐन बमोजिम कारोबार मूल्य निर्धारण गर्न नसकिएको बताइएको छ । पैठारी परिमाण, आकार प्रकार लगायतका कारणबाट ऐन व्यवस्था बमोजिम घोषित मालवस्तुको कारोबार मूल्य निर्धारण गर्न नसकिएको बताइएको हो ।
तसर्थ मालवस्तुको प्रकृति, अन्य पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य २०८० मंसिर १५ गतेको भन्सार विभागबाट भएको निर्णयानुसार अद्यावधिक सूचना मुल्य सूची समेतका आधारहरूबाट घोषणा गरिएका माल वस्तुमा भन्सार ऐन ६ सेन्ट डलर बमोजिम प्रति थानका दरले कारोबार मूल्य निर्धारण माल वस्तु जान्चपास गर्ने निर्णयपर्चा खडा गरिएको जानाकारी गराइएको छ ।
तर, मोर इन्टरप्राइजेजको हकमा पैठारी भएको डिसपोजेबल ग्यास लाइटरको सम्बन्धमा सोही प्रकारको सामान उत्पादक देश एउटै भएको ९० दिन भित्र पैठारी भएको, तातोपानी भन्सार कार्यालयको का विभिन्न मितिमा प्रति युनिट ६ सेन्टमा मूल्यांकन तथा जाँचपास भएको देखिएको बताइएको छ ।
यसरि हेर्दा पैठारी भएको डिसपोजेबल ग्यास लाईटरको विशेषता तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाट पैठारी भएको लाईटरसंग सबै कुरामा उस्तै बनौट, सामग्रीको अंश र उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्नसक्ने र व्यापारिक रूपमा साटफेर हुनसक्ने निर्णय पर्चामा उल्लेख छ ।
उस्तै प्रकारका उही कामगर्ने मालवस्तु देखिएको हुँदा घोषणा गरिएका मालवस्तुमा भन्सार ऐन मा भएको व्यवस्था अनुसार प्रति युनिट ६ सेन्ट का दरले मिल्दोजुल्दो माल वस्तुको आधारमा मूल्य निर्धारण गरी मालवस्तु जाँचपास गर्ने निर्णय पर्चा खडा गरीएको बताइएको छ ।
यसरी हेर्दा शुभसिद्धि ट्रेडर्सको निर्णय पर्चामा मालवस्तुको भौतिक परिक्षण गरेको भनिएको छ । तर मोर इन्टरप्राइजेजमा मालवस्तुको भौतिक निरिक्षण गरेको भनिएको छ ।
त्यस्तै गरि शुभसिद्धि ट्रेडर्सको मालवस्तु भन्सार ऐनको दफा १३ को उपदफा २, ८ र ९ उल्लेख गरिएको छ । तर मोर इन्टरप्राइजेजमा भन्सार ऐनको दफा १३ को ४ र ८ उल्लेख गरिएको छ । यी सबै विषयहरु शंकास्पद देखिएका छन् ।
शुभसिद्धि ट्रेडर्सको हकमा भन्सार ऐन को दफा अनुसार कारोबार मूल्य निर्धारण गर्न सकिएन अतः दफा १३ को उपदफा १२ बमोजिम निर्धारण गरेको देखिन्छ ।
अर्को मुख्य कुरा मोर इन्टरप्राइजेजको हकमा दफा १३ को उपदफा ४ र ८ बमोजिम अनुसार कारोबार मूल्य निर्धारण गर्न सकिएन अतः उपदफा ९ बमोजिम गरेको देखिएको हो ।
यसले समान र एउटै किसिमको विषय र मुद्दामा अलगअलग दफा उल्लेख गरिएको छ । यसरी किन, के कति कारणले कारोबार मूल्य निर्धारण गर्न सकिएन? सो बारेमा केही पनि उल्लेख नगरेको देखिएको हो ।
अर्को विषय मोर इन्टरप्राइजेजको हकमा भन्सार ऐन दफा १३ को उपदफा ८ बमोजिम भन्सार मूल्य निर्धारण हुन नसक्नुको कारण एउटै कम्पनी, एउटै ब्राण्डको मालवस्तु नभएको भनी भनिएको छ । तर, सो निष्कर्षमा कसरी पुग्यो सो बारेमा के पनि उल्लेख नगरेकोले आधारहिन छ । मालवस्तुको भौतिक निरिक्षण कसले कहाँ कुन दिन गरेको थियो, सो बारे पनी केहि उल्लेख गरेको छैन ।
गैर प्रविधिकले भौतिक निरिक्षण मात्र गरेको भरमा अर्को दफा १३ को उपदफा ९ मा किन प्रवेश गरेको हो ? यो आफैमा प्रश्न देखिएको छ । साथै तातो पानी भन्सार कार्यालयमा पैठारी भएको भनी, भनिएको कथित वस्तुसँग मोर इन्टरप्राइजेजको वस्तु कसरि, कुन प्रविधिबाट कस्ले कसरी दाज्यो त्यो आफैमा प्रश्न देखिएको छ ।
तातोपानी भन्सारबाट नमूना कुन मितिमा कतिको नं को चलानीपत्र साथ कुन साधन र माध्यमबाट पठाएको र कुन मितिमा सुक्खा बंदरगाह भन्सार कार्यालयमा प्राप्त भयो र कति दर्ता नं मा दर्ता भयो त्यो जानाकारी छैन । त्यस्तै कुन मितिमा कसलाई भौतिक निरिक्षण गर्नलाई दिइयो र सो व्यक्तिले आफ्नो निरिक्षण प्रतिवेदन भन्सार कार्यालय मा पेश गर्यो वा गरेन त्यो समेत जानाकारी छैन ।
शुभसिद्धि ट्रेडर्सको हकमा भन्सार ऐन को दफा १३ को २ बमोजिम कारोबार मूल्य निर्धारण गर्न सकिएन भनी उल्लेख मात्र गरेको छ । तर के कति कारणले गर्न सकिएन सो बारेमा केपनि उल्लेख गरेको छैन । पैठारी परिमाण, आकार, प्रकार लगायतका कारणबाट उक्त ऐनको दफा १३ को उपदफा ८,९,१०, ११ बमोजिम समेत घोषित मालवस्तुको कारोबार मुल्य निर्धारण गर्न नसकिएको देखिएको हो ।
तसर्थ मालवस्तुको प्रकृति,अन्य पैठारीकर्ताले घोषणा गरेको कारोबार मुल्य, मंसिर १५ गेतेको भन्सार विभागबाट भएको निर्णयानुसार अद्यावधिक सूचना मुल्य सूची समेतका आधारहरूबाट घोषणा गरिएका मालवस्तुमा भन्सार ऐन अनुसार मूल्य थप गरी मालवस्तु जान्चपास गर्न यो निर्णय परचा खडा गरिएको भनी निर्णय भएको पाइएको छ । यस सम्बंधमा पनि कुनै कारण इत्यादि खुलाइएको छैन।
तर भन्सार ऐनको उपदफा ११ बमोजिम भन्सार मुल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले उपदफा २ ,८ १० ११ विपरीत नहुने गरी मनासिब आधारमा त्यास्तो मालवस्तुको भन्सार मूल्यांकन गर्ने छ भनि उल्लेख छ |
यसलाई न्यायिक मनले हेर्नेहो भने भन्सार अधिकृतले कुन आधारमा के गरी कस्तो मनासिब आधार अपनाएको हो, सो समेत खुल्दैन
यसरी हेर्दा मिलोमतोमा गैरकानूनी, गैरजिम्मेवार, अन्यायपूर्ण र पूर्वाग्रही रहेर मूल्यांकन वृद्धि भएको देखिन्छ ।
त्यसका साथै केहि व्यपारिक फर्मको सामान धरौटीमा छोडेको र केहिको धरौटीमा नछोडेकोले अर्को समस्या देखिएको छ । गत वर्ष मंसिरमा मूल्यांकन बढाएकोमा पुस ६ गतेसम्म धरौटीमा छोडेको रेकर्ड भेटिएको छ । तर त्यसभन्दा पछाडी छोड्न मानेन ।
पुस ६ गते पछि जाँच पास गराउनेहरूको धरौटी त गर्दै गरेन त्यसका साथै पुनरावेदन गर्ने छैन भनी कबूलियत समेत गराएको भेटिएको हो । यो सबै शंकास्पद देखिएको हो ।
ग्यास लाइटरको भन्सार मूल्यांकनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा भन्सार विभागका तत्कालिन महानिर्देशक र भन्सार कार्यलय प्रमुखलाई स्पष्टिकरण समेत सोधिसकेको छ ।