अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो, कति पुग्यो ?

चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैं मूल्य निर्धारण गर्ने गरेका छन् ।

पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच रूपैयाँ तय गरेको छ । ठूलो अण्डा चार सय ९५ रूपैयाँ र मध्यम अण्डाको मूल्य चार सय २५ रूपैयाँ तोकिएको हो ।

हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच रूपैयाँ, ठूलो र मध्यमको १० रूपैयाँले बढाइएको बताए । सबै फार्महरुले मूल्य बढाएको उनले जानकारी दिए । लामिछानेले भने, ‘मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।’

अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेर बजारीकरणमा जुटेका छन् । संघका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताए । साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ ।

उद्योग संघ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले जानकारी दिए । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रूपैयाँ कायम गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स