काठमाडौं । नेपाल जन प्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा प्रदान हुने सम्मान पूर्व मन्त्री थापालाई प्रदान गर्न लागिएको हो ।
सो संस्थाका प्रेसिडेन्ट एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन संघले वि सं २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । सम्मान पत्रसहित नगद राशी दुई लाख रुपैयाको यो सम्मान वर्षेनी प्रदान गरिदै आएको छ ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुयाएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा भेषबहादुर थापालाई प्रदान गरिने भएको हो ।
यो सम्मान विशेष समारोह बीच आगामी २०८१ श्रावण २३ उनलाई अर्पण गरिनेछ ।
यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन् अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिड कर्पोरेशन लिमीटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए ।
अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा भगवान कोईराला, डा विमल कोईराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुड्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भएका छन् ।
डा भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुने २० औ व्यक्ति रहेका छन् ।
स्वर्गीय हेमबहादुर मल्ललले साल्ट ट्रेडिंग कर्पोरेशनमा संस्थापक प्रमुख कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका छन् । उनी नेसनल फाइनान्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड र सुवर्ण फर्मास्युटिकल्स लिमीटेडको पनि अध्यक्ष समेत रहेका छन् ।