काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासो बढ्न थालेकोे छ ।
लगानीकर्तालाई सबैभन्दा पहिला लाभांश बाड्न लक्ष्मी सनराइज क्यापिटलले लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलको साउन १४ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ नाफाबाट कर सहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।
लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखा परिक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो ।
प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते आज बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २१ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।