ढुङ्गाभन्दा कठोर मान्छे

ढुङ्गा कठोरताको प्रतीक
न कान छ यसको सुन्ने,
न त छ मुख नै
त्यसैले बोल्दैन।
कडा, कठोर, अचल, जीवनविहिन,
सम्वेदनाहिन ढुङ्गा।
झरी, वर्षा, बाढी-पहिरो, असिना
चुपचाप सहन्छ ढुङ्गा।
पल्टाए पल्टन्छ, फोडे फुट्छ
टुक्याए टुक्रन्छ, टुट्छ, फुट्छ।
ढुङ्गा कालीगढको हात परे मुर्ति बन्छ,
शालिक बन्छ,
अनि बन्छ शिलालेख।
ढुङ्गा कालीगण्डकीको भेलमा परे
ठोकिँदै बजारिदै
पानीको शक्तिशाली वहावसँग
दाँयाबाँयाका सगोत्रीसँग ठोकिँदै
असंख्य चोट र प्रहार सँहदै
चुपचाप शालीग्राम बन्छ।
ढुङ्गा गुनासो गर्न सक्दैन,
पीडा व्यक्त गर्न सक्दैन,
ढुङ्गामा जीवन छैन,
दयामाया छैन,
निर्जीव चट्टानको पहिचान,
तर जीवन बचाउँछ ढुङ्गा,
धर्तिलाई आधार दिन्छ ढुङ्गा।
ढुङ्गाको नैतिकता छ,
धर्म छ र कर्म छ।
कडा हुनु, नसुन्नु, नबुझ्नु, नबोल्नु
र मानव कल्याणका लागि
जे बनायो त्यही बन्नु,
धर्तिलाई आधार दिनु धर्म हो ढुङ्गाको,
धर्ममा अडिग रहनु नैतिकता हो ढुङ्गाको।
ढुङ्गाले मानव अस्तित्व दियो
ओडार, पत्थर, चट्टानमा
आश्रय पायो मानव पुर्खाले,
दुई ढुङ्गा रगडिएर/ठोक्किएर आगो दियो ढुङ्गाले।
ढुङ्गाले आफै मानव अहित गरेको इतिहास छैन
ठेस लाग्नु, चोट लाग्नु
ढुङ्गाको गल्ती होइन,
मान्छे गल्ती गर्छ दोष ढुङ्गालाई दिन्छ।
आजकाल संवेदनाहिन छ मान्छे,
मान्छे ढुङ्गाभन्दा कम कठोर छैन
मान्छे सुन्दैन आफ्ना प्रतिकूलका कुरा,
मान्छे बोल्दैन अरूको हित/उपकारका लागि,
आफ्नो इच्छा पूरा हुनु मात्र ठीक ठान्छ मान्छे
आफूले मात्र मनपरी गर्नु नैतिकता मान्छ मान्छे।
ढुङ्गा जानीजानी कसैको अहित गर्दैन,
मान्छे जानीजानी अहित मात्र गर्छ।
कमाउन, हत्याउन
पदमा आसिन भइरहन,
क्षणिक सान र मान पाउन,
मान्छे धर्म हार्छ, नैतिकता गुमाउँछ।
आजकाल ढुङ्गाजति इमानदार छैन मान्छे,
ढुङ्गा जति उपकारी छैन मान्छे,
अनि,
ढुङ्गा र मान्छेमा के फरक,
मान्छेमा जस्तो लोभ, लालच, शत्रुता,
भेदभाव, पक्षपात, अहंता
र अतृप्तता कहाँ छ ढुङ्गामा,
मान्छेले जस्तो धर्म कहाँ हारेको छ ढुङ्गा,
मान्छे जस्तो अराजक कहाँ भएको छ ढुङ्गा।
आफूलाई फाइदा देखे हिजो गल्ति भनेको कुरा
आज ठीक भन्छ मान्छे,
आफूले गरेको सबै ठीक,
अरूले गरेको सबै बेठीक भन्छ मान्छे।
ढुङ्गा जति पनि धर्म र नैतिकता नभएको,
आफूले आफैलाई सर्वश्रेष्ठ ठानेको,
सृष्टिकै विवेकशील प्राणी घोषणा गरेको जीव हो मान्छे,
जो ढुङ्गा भन्दा पनि कठोर छ, र
ढुङ्गाजति धर्म पालन र नैतिकता देखाउन असमर्थ छ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स