बुक फ्रि फ्राइडे : १५ विधाका पाठ्यक्रम तर्जुमा गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ््यक्रम तर्जुमा गरिरहेको छ । सामुदायिक विद्यालयहरुमा अभ्यास गरिएका १५ विधामा महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार संघसस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, २०८० मंसिर २६ गते काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत ६ वटा काम छन् । आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा काम भइरहेको हो ।

२०८० सालमा कक्षा ९ का विद्यार्थीहरुलाई शिक्षामा सिप कार्यक्रम सञ्चालन गरेर नमूनाका रुपमा थालिएको बुक फ्री फ्राइडे कार्यक्रममा अहिले कक्षा ४ देखि १२ सम्म चलिरहेका छन् । विद्यार्थीको रुचि र संख्या, विद्यालयको भौतिक सुविधाअनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएका छन् । हरेक उपसमूहका लागि एक जना फोकल शिक्षक तोकिएको छ ।

यसरी सिकाइ भइरहेका विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन् । एनिमेसन र गेमिफिकेसन, नाट््य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन् । यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई बैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो । बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् ।

महानगरपालिकाले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गरिरहेको हो ।

मस्यौदा पाठ्यक्रममा सरोकारवालाको पृष्ठपोषण लिनका लागि आज कार्यशाला आयोजना गरियो । डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यशालामा शिक्षा अधिकृतहरु, स्रोत शिक्षक, प्रधानाध्यापक र विद्यार्थी क्लवका अध्यक्षहरुलाई सहभागी गराइएको छ । उपस्थित साझेदारलाई १५ समूहमा विभाजन गरेर हरेक समूहले एउटा विधाको पाठ्यक्रममा पृष्ठपोषण दिएका छन् ।

पाठ््यक्रमको मस्यौदाका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘एक वर्षमा २५ हप्ताका १ सय घण्टा पुस्तकरहित शुक्रबारअन्तर्गतका सिर्जनात्मक सिकाइ कक्षा हुनेछन् । २५ घण्टा परियोजना (प्रोजेक्ट) मा आधारित कक्षा हुनेछन् ।’

‘कक्षा ४ मा भर्ना हुने विद्यार्थीले कक्षा ८ उत्तीर्ण हुने अवधिसम्ममा रचनात्मक सिकाइ अभ्यास गर्न पुस्तकरहित शुक्रबारअन्तर्गत आफ्नो रुचिका ५ वटा विषय छान्न पाउनेछन् ।’ सञ्चालित कार्यक्रमसहित आगामी योजनाका बारेमा जानकारी दिँदै झा भन्नुहुन्छ, ‘काठमाडौँ युनेस्को रचनात्मक सहरको चलचित्र विधामा सदस्य बनेको छ ।

यसकारण सिर्जनात्मक उद्योग र विद्यार्थीका रुचिसँग सम्बन्धित ५ वटा विधा थप गर्ने कार्यक्रम छ । स्काउट अभ्यासलाई यही कार्यक्रममा समावेश गरेर थप प्रभावकारी बनाउने योजना छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स