आयात घट्दा वीरगञ्जको राजस्व खस्कियो, ७ अर्बमा सीमित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व संकलन गरेको बताए ।

‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर संकलन र आयकर संकलन उत्साहजनक देखिएको छ’, उनले भने ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व संकलनमा असर पारेको छ ।’

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार संकलन गरेको छ ।
मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार संकलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार संकलन गर्ने लक्ष्य राखिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स