चराहरू उडिरहेका छन्,
स्वतन्त्र र स्वछन्द,
मानौं, पूरा आकास चराकै हो।
फूलहरू फुलिरहेका छन्
र झुलिरहेका छन्,
भिन्नभिन्न रङ्ग,
आकार, प्रकार र सुवासमा,
लाग्छ फूलको संसार अजम्वरी छ।
यस्तै छ सारा चराचर जगत,
शान्त, निष्फिक्री, निश्चिन्त,
र धेरै हदसम्म भयमुक्त।
पानी बगिरहेको छ अविरल,
स्वच्छ, कञ्चन, निर्मल, रङ्ग विहिन,
जता होचो त्यतै गन्तव्य,
पानीलाई लाग्दैन यो फलानाको
अनि त्यो तिलानाको,
बग्छ खोला, नदी, सागरमा
निरन्तर वेगसँगै,
काट्छ खेत, बारी, घर-आँगन, ढिस्का
अनि ढुङ्गा, माटो र चट्टान
र हिड्छ आफ्नो बाटो आफै बनाउँदै
आफ्नै अविरल गति र धारमा।
हावा, वायु, हुरी, वतास
चल्छ सिरिसिरी, सरसर्ति,
स्पर्श दिँदै र कहिलेकाही हुत्याउँदै,
स्वतन्त्र, निर्वाध आफ्नै गतिमा,
मानौं, पूरै ब्रह्माण्ड उसकै हो, धनी पूर्जा नै छ।
पृथ्वी सबैको,
सृष्टि सबैको,
अनि प्रकृति नि सबैको
तेरो-मेरो,
यति-उति,
साँध-सिमाना,
कुनै सीमा छैन, बारबन्देज नि छैन,
आफ्नो बनाउनु छैन नितान्त,
चरा, फूल, पानी र हावालाई,
अरू यस्तै कैयौं चिजलाई।
म मान्छे,
तृष्णा, कुण्ठा, लोभ, लालच, स्वार्थ
माया, प्रेम, शक्तिको भोक,
अनेक सपनाहरू,
र अरूभन्दा विशिष्ट हुने अतृप्त चाहाना,
त्यसैले कहिल्यै नजितिने, जितेर नसकिने
सीमाविहिन दौडमा छु।
मलाई आफ्नो एकरत्ति नि छोड्नु छैन,
अनि अरुको सकभर लिनुछ, हत्याउनु छ
आफ्नो बनाउनुछ
र त,
दौडेको दौड्यै छु
आफ्नो हितको लागि,
जे गर्न नि तयार छु,
नीति, विधि, नियम, आचार, व्यवहार,
अनि मूल्य-मान्यता मिच्न, थिच्न
र परे इमानै बेच्न नि तयार छु,
यति मात्र कहाँ हो र,
युद्ध गर्न नि तयार छु।
कठै! मेरो महत्त्वाकांक्षा,
आखिर जानुछ, छोड्नुछ
यो मायारूपी संसार,
र जानुछ
जसरी डाइनोसर गयो, फूल गयो, चरा गयो,
बुढो सिमल गयो, मुखिया बा पनि गए
र गए बडा हाकिम, सबै ठूलाबडा,
राजादेखि रङ्कसम्म सबै गए।
यो सबै देख्दा देख्दै,
भोग्दा भोग्दै,
थाहा नपाएरै हो वा थाहा नपाए जस्तो गरेर हो
म यो संसार छोडेर कतै जान्न झै लाग्छ,
त्यसैले त,
अजर-अमर म नै हुँ झै गरी दौडेकै छु,
म फूल झै मायालु किन हुन सकिन
म चरा झै स्वतन्त्र किन हुन सकिन
अनि पानी झै निर्मल किन नभएको,
र सृष्टि झै निस्वार्थी किन नभएको,
हावाले झै मन्दमन्द स्पर्श दिन किन नसकेको,
के दौड्नु नै मेरो खास नियति हो,
कहिल्यै सोचें मैले?
अहाँ! सोचिन,
मैले स्वार्थ, लोभ र ठूलो बन्ने अतृप्त आकांक्षा
साँचेको छु, मनभरि अहंम बोकेको छु,
अनि त कतिलाई रोकेको छु, परे ठोकेको पनि छु
चरा, फूल, पानी, हावा जस्तै स्वतन्त्र र स्वच्छ छैन म,
म बाँधिएको छु व्यक्तिगत उन्नति र स्वार्थमा,
यो मेरो नियत हो वा नियति,
बुझ्नै सकेको छैन।