भोलिदेखि जनगणना शुरु हुँदै, ४ अर्ब खर्च लाग्ने

काठमाडौं । भोलि (बिहीबार)देखि राष्ट्रय जनगणना शुरु हुने भएको छ । प्रत्येक १० वर्षमा एक पटक सञ्चालन हुने राष्ट्रिय जनगणनाको १२ औं शृंखलाको मुख्य गणना कार्तिक २५ गतेदेखि शुरु हुँदैछ । यो गणना कार्य कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधिमा सम्पन्न हुनेछ ।

राष्ट्रय जनगणनाका लागि ४ अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । उक्त रकम मध्ये जनगणनाको वर्ष २०७८ मा ३ अर्ब रुपैयाँ खर्च हुन्छ । त्यो तीन अर्बमध्येमा १ अर्ब ६० करोड रुपैयाँ गणक र सूपरिवेक्षकमा खर्च हुन्छ । जनगणनाको तयारी र डाटा राख्न र जनगणना सार्वजनिक गर्न बाँकी रकम खर्च हुने महानिर्देशक श्रेष्ठले बुधबारको पत्रकार सम्मेलनमा बताए ।

जनगणनाको पहिलो चरण अर्थात घर तथा घर परिवार सूचीकरण कार्यमा सूचीकृत भएका तथा कुनै कारणले त्यस समयमा छुटेका समेत गरी सबै परिवारमा गणकहरु पुगेर सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्नेछन् ।

जनगणना सञ्चालन गर्न देशभर ७ प्रदेश जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । विशेषगरी ठूला र धेरै जनसंख्या भएका जिल्लाहरुमा एकभन्दा बढी जनगणना कार्यालयहरु स्थापना भएका छन् । उदारणका लागि, काठमाडौंमा ५ जनगणना कार्यालय र मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीमा २/२ जिल्ला जनगणना कार्यालय रहेका छन् ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । जस्तै, केन्द्र स्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा जनगणना निर्देशक समिति, प्रदेश स्तरमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश जनगणना समन्वय समिति, जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीद्वारा समन्वय गरिएको जिल्ला जनगणना समन्वय समिति, पालिका स्तरमा प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित स्थानीय तहको अध्यक्षतामा स्थानीय जनगणना समन्वय समिति र वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिति गठन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स