काठमाडौं । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४० वर्ष पूरा गरेको छ । बैंकिङ क्षेत्रमा उदाहरणीय पहिचान बनाएको नबिल बैंकले ४१ औँ वर्षमा प्रवेश गरेको हो ।
४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न नयाँ योजनाहरू सार्वजनिक गरेको छ । बैंकले स्थापनाकालदेखि नै आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । नबिल बैंकका अनुसार, हाल एन बैंक मार्फत ६० भन्दा बढी सेवा मोबाइलबाट उपलब्ध गराइरहेको छ ।
सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक् पहिचान बनाएको छ । यही पहिचानलाई अझ बलियो बनाउनका लागि बैंकले आकर्षक कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
४०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङका योजना मार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक-आर्थिक विकास प्रवर्द्धन गर्ने परियोजनाहरू अघि बढाउने बताए । उनले यस अवसरम ग्राहक, कर्मचारी, र शेयर धनीलाई धन्यवाद व्यक्त गर्दै दिगो सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाए उनले बैंकले नवप्रवर्तन र प्रविधिमार्फत सरल सेवामा विशेष ध्यान दिएको बताए ।
नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ, एटिएम, मोबाइल बैंकिङ, मास्टर कार्ड, डेबिट कार्ड, कन्ट्याकलेस पेमेन्ट कार्ड, र नियो बैंकिङ सेवा सुरु गरेको थियो। बैंकले देशभर २६८ शाखा, २२ एक्सटेन्सन काउन्टर, र ३१६ एटिएम मार्फत सेवा प्रदान गर्दै २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
४० वर्ष पूरा भएको अवसरमा नबिल बैंकले ’द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ। यस योजनामा सात वर्षे अवधिको कर्जाको ब्याजदर ८ दशमलब ४ प्रतिशत र १० वर्षे अवधिको कर्जाको व्याजदर ९ दशमलब ४ प्रतिशत निर्धारण गरिएको छ । यो योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुनेछ ।
बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।
साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ। कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधार दरमा ११५ प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ ।
निजी क्षेत्रको पहिलो वाणिज्य बैंक नबिल बैंकले देशभर २६८ शाखा, २२ एक्सटेन्सन काउन्टर, र ३१६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । यस बैंकले हाल २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।