५२ करोडमा संचालित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा मंगोलियन हार्टको सांगीतिक कार्यक्रम हुने

झापा । शिवसताक्षी नगरपालिका–८ मा ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मंगोलियन हार्टका राजु लामाको सांगीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ ।

पार्कको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर १० गते सो कार्यक्रम गरिने वाटर किङ्डम पार्क एण्ड रिसोर्टका सञ्चालक सौजनराज सङ्ग्रौलाले मङ्गलबार पत्रकार सम्मलेन गरी जानकारी दिए । बिर्तामोडदेखि पश्चिम १७ किलोमिटर र दमकपूर्व १४ किलोमिटरमा रहेको पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि ३०० मिटर दक्षिणमा रहेको पार्कमा प्रत्येक महिना विभिन्न साङ्गीतिक कार्यक्रम हुँदै आएको उनले बताए ।

ठूलो लगानी गरेर गत वर्ष मात्र सञ्चालनमा ल्याइएको पार्क कोभिड–१९ को महामारीका कारण लामो समय बन्द हुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको उनको भनाइ छ । बन्दको समयमा छ करोड ५० लाख घाटा व्यहोरेको पार्कमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् ।

‘सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै आन्तरिक पर्यटक आउन थालेका छन्’, उनले भने, ‘हाम्रो उद्देश्य भनेको बाह्य पर्यटकलाई पनि आकर्षण गर्ने हो । लामा देशकै चर्चित साङ्गीतिक क्षेत्रका हस्ती हुन्। हाम्रो पार्कको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने अपेक्षाले कार्यक्रम आयोजना गरेका हौं ।’

कार्यक्रम सञ्चालनका लागि ३० लाख अनुमानित खर्च हुने उनले जानकारी दिए । कार्यक्रममा मनोरञ्जन लिन आउने सहभागीबाट एक हजारदेखि २५ हजारसम्मको टिकट बिक्री गरिने योजना छ । साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन लिनका लागि करिब पाँच हजार पर्यटक भित्र्याउने अपेक्षा लिएको उनको भनाइ छ ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइक्लिङ पनि व्यवस्था गरिएको सञ्चालक समिति सदस्य तथा पत्रकार विनोद सापकोटाले बताए ।

उनका अनुसार पार्कसँगै विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा–समारोह गर्नका लागि सुविधासम्पन्न रिसोर्टसमेत सञ्चालनमा रहेको छ । यहाँ स्थानीयवासी ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स